काठमाडौं । जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तर स्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २२ देखि २९ गतेसम्म हुने भएको छ । प्रतियोगिता काठमाडौं जिल्ला क्रिकट संघको आयोजनमा हुन लागेको हो ।
नेपाली क्रिकेटको विकासमा अतुलनीय योगदान दिएका नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा आयोजना गरिन लागिएको यो प्रतियोगिता गत वर्षदेखि सुरु भएको हो ।
प्रतियोगिता पहिलो दिन काठमाडौंको मुलपानी क्रिकेट मैदान (तल्लो र माथिल्लो) तथा त्रिवि क्रिकेट मैदानमा खेल हुनेछन् । यसैगरी दोस्रो दिनदेखि त्रिवि मैदान र मुलपानी (तल्लो)मा हुने आयोजकले जनाएको छ।
यो प्रतियोगितालाई एसिसी मेन्स यु-१६ इस्ट जोन कप २०२५ छनोटको रूपमा लिइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा समावेश गर्दै नेपालको राष्ट्रिय यु-१६ टोलीको छनोटका लागि अवसर दिइने आयोजकले जनाएको छ।
समूह विभाजन
पहिलो संस्करणमा १६ विधालयले सहभागिता जनाएका थिए । यस पटक २१ विधालय सहभागी हुने भएका छन्। सहभागी विद्यालयलाई सात समूहमा विभाजन गरिएको छ।
हरेक समूहका विजेता र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलको यात्रा तय गर्नेछन् ।
कुल २८ खेल हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।