काठमाडौं । नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गर्यो । जितसँगै नेपालले दुई अंक हासिल गरेको छ।
नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको युएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएकाे अवस्थामा वर्षा र खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भवन नभएपछि नेपाललाई विजेता घोषणा गरियो ।
युएईका लागि ययिन किरण राईले सर्वाधिक ९६ बलमा आठ चौका र पाँच छक्काको मद्दतले अविजित १०४ रनको योगदान गरे। यसैगरी मोहम्मद रायन खानले ३५, करण धिमनले १५ बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि अशोक धामी र सन्तोषकुमार यादवले समान दुई तथा अभिषेक तिवारी र कप्तान नरेन भट्टले समान एक लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रनको योगफल तयार पारेको थियो । मैदान हिलो भएका कारण टसमा ढिलाइ भएका कारण खेललाई ४० ओभरमा झारिएको थियो ।
नेपालका लागि नरेन भट्टले ७५ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे। यसैगरी दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाए ।
युएईका लागि युदिश सुरीले तीन, युग शर्मा र शलोम डी सुजाले समान दुई तथा अलिअस्गर शम्स रकरण धिमनले समान एक विकेट लिए