काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा भइरहेको राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दा गोर्खाली रग्बी क्लब अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
खेल च्यासल रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । यसअघि साबिक विजेता गोर्खालीले एपिएफलाई १४-१२ र आर्मीलाई ३०-१० ले पराजित गरेको थियो ।
यता पुलिस सान्त्वना जित निकाल्ने सोचमा छ । यसअघि पुलिसले आर्मीसँग ४९-३ तथा एपिएफसँग ७८-० को हार बेहोरेको थियो ।
मंगलबारै हुने अर्को खेलमा दुई विभागीय टोली आर्मी र एपिएफ प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ र अन्य सहभागीले प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलाडी डटकम, एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक तथा युट्युब च्यानलबाट हुनेछ ।