पोखरा । केपी ओली कप ट्वान्टी-२० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस पद्धति (डिएलएस) को आधारमा मधेश प्रदेश क्रिकेट क्लबलाई तीन रनले पराजित गर्दै समूह विजेता बन्यो ।
हिमाल फ्रेन्ड्सले प्रतिस्तु गरेको १२४ रनको लक्ष्य पछ्याएको मधेशले ११ ओभरमा चार विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाका कारण रोकिएको थियो ।
खेल रोकिनुअघि विशाल सुस्लिङ तीन र दिपेश दास एक रन बनाएर खेलिरहेका थिए । यस्तै ओपनर रोहन विक ३० र रवि सिंहले १८ रन बनाएर आउट भएका थिए ।
हिमल फ्रेन्ड्सका लागि दीपक रोकायाले दुई तथा सञ्जय बोहरा र मोन्सन सिंहले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो ।
हिमाल फ्रेन्डुसका लागि आयुव चन्दले ३६, सञ्जय बोहराले २२, कप्तान अविनाश सिंहले १६ र अरुण धानीले अविजित १५ रन बनाए ।
मधेशका लागि विशाल सुस्लिङले तीन, कप्तान रुपेश सिंह र प्रदीप पासवानले समान दुई विकेट लिए ।
यही समूहको अर्को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीविरुद्ध पाँच विकेटको जित निकाल्यो ।
हिमाल फ्रेन्ड्सले तीन खेलबाट पाँच अंक जोड्यो । यसैगरी लुम्बिनीको चार र कर्णालीको दुई अंक रह्यो तीन खेलमा पराजित मधेश भने अंकविहिन बन्यो ।