काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकाका पूर्व खेलाडी जोन्टी रोड्सलाई सल्लाहकारका रूपमा अनुबन्ध गरेको छ ।
पाेखराले रोड्ससँग तीन वर्षको सम्झौता गरेको छ । हालसम्म उनी एनपिएलमा जोडिन सबैभन्दा ठूलो नाम हुन् ।
पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले रोड्ससँग सम्झौता गर्न पाउँदा उत्साहित रहेको बताए । ‘उहाँलाई टिममा पाउँदा निकै उत्साहित छौं । रोट्सको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् उज्ज्वल युवाको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ ।’
रोड्ससँग न्डियन प्रिमियर लिगमा पन्जाब किंग्स, मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरेको अनुभव छ ।
रोड्सले पोखरासँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘पोखरासँग जोडिन पाउँदा छु । अब म मेरो सिप र अनुभवमार्फत मुख्य प्रशिक्षक राजीव कुमारसँग मिलेर टिमलाई बलियो बनाउने प्रयास गर्नेछु,’ रोड्सले भने ।
रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई पनि छोटो प्रशिक्षण दिएका थिए ।
पोखराको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् ।