काठमाडौं । न्युटन हाइ स्कुलको आयोजनामा प्रथम न्युटन एसइइ कप ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २०८० सालमा एसइइ दिएका विद्यार्थीका ४८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा न्युटनका प्रिन्सिपल रामबहादुर केसीले जानकारी गराए । ब्वाइजमा ३२ तथा गर्ल्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नगद पुरस्कारसहित पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ । दुवैतर्फका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउने छन् । साथै उनीहरुलाई न्युटनमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति पनि प्रदान गरिनेछ ।
यसैगरी सेमिफाइनल पुग्नेले ७०, क्वार्टरफाइनल पुग्नेले ६० र सहभागी टोलीका खेलाडीले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले बताए ।
दुई दिने प्रतियोगिताका खेलहरु बालुवाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।