काठमाडौं । तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत बास्केटबलमा लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मि च्याम्पियन बनेका छन् । लालीगुराँसले जुनियर छात्र तथा हिमरश्मीले सिनियर छात्रातर्फको उपाधि जिते ।
मनमैजुस्थित घरेलु कोर्टमा भएको जुनियर छात्र फाइनलमा लालीगुराँसले एन्जल्स हार्टलाई २३-१८ ले पराजित गर्यो । लालीगुराँसका सर्गम गुरुङले ९ अंक जोडे । हिमरश्मि र जीवन ज्योति तेश्रो भए ।
तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा हिमरश्मीले ल्यान्डमार्क एकेडेमीलाई २५-१६ ले हरायो । हिमरश्मीकी निमा तामाङले सात स्कोर गरिन् । लालीगुराँस र मानसिंह धर्मले तेश्रो स्थानमा रहे ।
विजेतालाई तार्केश्वर नगरापालिका वडा १० का अध्यक्ष कुमार राई, मेयर रनिङ सिल्ड खेलकुदका संयोजक राजेन्द्रप्रसाद तिमिल्सिना, नगर शिक्षा अधिकारी पदमबहादुर खत्री, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले पुरस्कृत गरे ।
पाँचदिने नकआउट प्रतियोगिताको जुनियर छात्रमा १८ तथा सिनियर छात्रामा १४ टिमले प्रतिस्पर्धा गरेका थिए ।