काठमाडौ। नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनमा दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता मंगलबार र बुधबार हुने भएको छ ।
प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा हुनेछ ।
संघका अध्यक्ष देवी आचार्यका अनुसार प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब, जावलाखेल ह्विलचियर स्पोर्टस क्लब, विइन क्लब, ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए), इस्पाइनल कट इन्ज्युरी नेटवर्क नेपाल, बिआइए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउने छन्।
यी ८ क्लबका ७ महिला र ६ पुरुष गरी १३ वटा टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ४० हजार र तेस्रो स्थान हासिल गर्नेले रुपैयाँ प्राप्त गर्नेछन्।
यसैगरी दुवैतर्फको उच्च स्कोर गर्ने र सर्वोकृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई जर्सीको व्यवस्थासहित प्रतिदिन १००० का दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १९ लाख १२ हजार ५०० रुपैयाँ लाग्ने संघले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिका, सिबिएम ग्लोबर डिसएबिलिटी, इनक्लुसियन, प्लान इन्टरनेसनल नेपाल, करुणा फाउन्डेसन र सनातन शक्ति नेपालले आर्थिक सहयोग गरेका छन् ।