काठमाडौं । ट्रेलमान्डु नेपालको आयोजनामा ट्रेल रनिङ केभिआर समीट च्यालेन्ज शनिबार सुरु हुने भएको छ ।
केभिआर रन २० देखि ३० किलोमिटरको हुने गर्दछ । यसपटक ट्रेल रनिङमा ७-१० किलोमिटरको फन रन/हाइक पनि राखिएको छ । यो छोटो दूरीको ट्रयाक परिवार र साथीहरूका लागि उपयुक्त बनाइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि हालसम्म अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दाबढी खेलाडीले नाम दर्ता गरिसकेका छन् । इच्छुक धावक/ धाविकाले शुक्रबार बिहान १० बजेसम्म नामा दर्ता गर्न सक्नेछन् ।
रेस निर्देशक आशिष मिश्रका प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराए । ‘हामीले यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउनेप्रयास गरेका छौं । यसको उद्देश्य ट्रेल रनिङ समुदायलाई सक्रिय राख्नुका साथै नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटनलाई प्रवर्धन गर्नु हो,’ निर्देशक मिश्रले भने ।
केभीआर समीट च्यालेन्जसको यो सत्र पाँच चरणको हुनेछ । रेस-१ सन् २०२५ अक्टोबर ११, रेस-२ नोभम्बर ८, रेस-३ डिसेम्बर ८, रेस-४ सन् २०२६ को जनवरी १० र रेस-५ फेब्रुअरी १ मा हुनेछ ।