काठमाडौं । नेपालका ६ खेलाडीले भारतको देहरादुनमा अर्को हप्ता हुने सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ (एएसयु) र अन्तराष्ट्रिय स्केटिंङ महासंघ (आइएसयु) को सहकार्यमा हुने प्रतियोगितामा नेपालबाट २ महिला तथा ४ पुरुष खेलाडीको सहभागिता हुने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले जनाएको छ । शनिबार सुरु हुने प्रतियोगिता सोमबारसम्म चल्नेछ ।
संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता देहरादुनको माहाराना प्रताप स्पोर्टस कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा हुनेछ । नेपालका तर्फबाट आइस स्केटिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो पहिलो अवसर भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
प्रतियोगितामा नेपाल बाट सिनियर पुरुषको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वेले चुनौति प्रस्तुत गर्नेछन् । यसैगरी जुनियर महिलाको ५०० मिटरमा परी गुरागाईँ र अल्का घिमिरे तथा पुरुष जुनियरको २५० मिटरमा जेभियरजंग थापा र सायोन अर्यालले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा टिम व्यवस्थापकका रुमपा सन्जु श्रेष्ठ तथा अफिसियलको हैसियतमा संघका महासचिब सत्य थापाले नेपाली टिमको नेतृत्व गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विदाई गरे । सो क्रममा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीहरु पदक जितेर फर्किने विश्वास व्यक्त गरे ।
