काठमाडौं । चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिएका छन् ।
मंगलबार लैनचौरस्थित टेबुलटेनिस हलमा पदक विजेता कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिएका हुन् ।
एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिएका मन्त्री गुप्ताले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना प्रदान गरे ।
कार्यक्रममा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति रहेको थियो ।
नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो । कृष्णले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए । यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए ।
