भारोत्तोलन: जुनुमायाले सुधारिन् कीर्तिमान

तस्वीर: सुदर्शन रन्जित, पोखरा ।

पोखरा । नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको ७१ केजी तौल समूहमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधारेकी छन् । स्न्याचमा उनकै नाममा ६८ केजीको कीर्तिमान थियो ।

तर, उनले मंगलबार पोखरा उद्योग वाणिज्य संघको हलमा तीन पटकसम्म सफल प्रयास गर्दै ७८ केजीको नयाँ कीर्तिमान बनाइन् । पहिलो प्रयासमा सफलतापूर्वक ७० केजी उचालेकी जुनुमायाले दोस्रो प्रयासमा ७५ तथा तेस्रो प्रयासमा ७८ केजी उचालिन् ।

भारोत्तोलनमा यसरी तीन वटै प्रयासमा कीर्तिमानी सफलता पाउनुलाई निकै दुलर्भ मानिन्छ । सन् २०१६ मा भारतको गुहावटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)की कास्य पदक विजेतासमेत रहेकी जुनुमायाले विवाह र बच्चा जन्माउन केही समय ब्रेक लिएर पुनरागमन गरेकी हुन् ।

भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक तथा वर्तमान महासविच तिलक राउतले उनी एकदमै प्रभावशाली खेलाडी रहेको बताए ।

‘एकै पटकमा १० किलो सुधार गर्नु एकदमै दुर्लभ कुरा हो,’ उनले खेलाडीसँग भने, ‘उनी प्रतिभाशाली खेलाडी हुन् । राज्यले उनलाई संरक्षण गरेर राज्यले अगाडि बढाउनुपर्छ ।’