काठमाडौं । विश्व नम्बर एक कार्लोस अल्कारेज पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् ।
स्पेनिस स्टार अल्कारेजले आइतबार सम्पन्न फाइनलमा विश्व नम्बर दुई सर्बियाका नोभाक जोकोभिचमाथि ३–२ सेटको रोमाञ्चक जित निकालेका हुन् ।
पहिलो सेट १-६ ले गुमाएका अल्कारेजले त्यसपछिका दुई सेटमा ७-६(८-६) र ६-१को जित निकाले ।
अल्कारेजले चौथो सेट ३-६ले गुमाउँदा खेल पाँचौं सेटसम्म लम्बिएको थियो । पाँचौं तथा अन्तिम सेट ६-४ ले आफ्नो पक्षमा पार्दै अल्कारेज पहिलो पटक विम्बल्डन च्याम्पियन बने ।
जोकोभिच लगातार पाँचौं विम्बलडन र २४औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा थिए ।
‘मेरो लागि सपना पूरा भएको छ,’ अल्कारेजले भने,’म एकदमै गौरवान्वित छु ।’
अल्कारेजको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । उनी गत वर्ष युएस ओपन च्याम्पियन बनेका थिए ।
सेमिफाइनलमा अल्कारेजले रुसमा डानिल मेदभेदेव र जोकोभिचले इटालिका जानिक सिनरलाई पराजित गरेका थिए ।
यसैगरी युक्रेनकी एलिना स्विटोलिनालाई पराजित गर्दै चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभा महिलतार्फको च्याम्पियन बनेकी थिइन् ।