काठमाडौं । नेपाल बुद्धिचाल महासंघको नयाँ वार्षिक क्यालेन्डरअनुसार २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघ तेस्रो साता हुने भएको छ ।
प्रतियोगिता माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराए ।महासंघले प्रतियोगिता संयोजकको जिम्मेवारी महासचिव धरमबहादुर लामालाई सुम्पिएको छ ।
प्रतियोगितामा दुवै विधातर्फ नै सिनियर नेसनल च्याम्पियनका शिर्ष तीन तथा नेशनल बी वाट छनोट भएका उत्कृष्ट ९ खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिता ९ चरणमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ नेसनल च्याम्पियनसिपका शीर्ष तीन राजन सुवेदी, शुश्रुत दहाल, क्षितिज भण्डारीसहित नेसनल ‘बी’ बाट भएका पुरुषोत्तम सिलवाल, आशिष फुयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन्।
यसैगरी महिलातर्फ नेसनल च्याम्पियनसिपका शीर्ष तीन सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारीसहित छनोट भएर आएका विनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरी, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।
महासंघको सचिवालय बैठकले राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी प्रदान गरेको । यस्तै मकवानपुर जिल्ला बुद्धिचाल संघलाई स्थानीय व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सोराज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहने भएको छ।
प्रतियोगिता सञ्चालनका लागि २४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताका विजेता खेलाडीलाई आगामी वर्ष काजकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने छ ।