पोखरा । टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसमा सहभागी विभागीयबाहेक अन्य टोलीले विदेशी खेलाडी राख्ने भएका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले भाग लिनेछन् ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ ।
प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् ।
गण्डकी र आयोजकको टोलीमा समान विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । यसैगरी विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
२ हजार सिट क्षमताको प्यारापिट हुने
प्रतियोगितामा दर्शक क्षमता बढाएर २ हजार पुर्याइने भएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिता ज्ञवालीले जानकारी दिए ।
खेल हेर्नका लागि इ-सेवामार्फत अनलाइनबाट टिकट काट्न सकिनेछ । ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । सिट नपाउने स्थिति नबनोस भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।
प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।