कार्तिक ३०, २०८२ आइतबार | ०५:२६:११
एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै एनपिएलका लागि मार्क वाट नेपालमा ब्रदरहुड ‘ए’ लाई फेकन फुटसलको उपाधि एनपिएलबाट ४० करोड भन्दाबढी आम्दानी हुने क्यानको अनुमान कर्णाली लगातार दोस्रो पटक च्याम्पियन दृष्टिविहीन विश्वकपः नेपालले अस्ट्रेलियालाई हरायो टाइगर कपको विजेताले ६ लाख ६६ हजार ६६६ पाउने इङ्लिस ब्याटर जेसन रोय पोखरामा अनुबन्ध एनपिएलका लागि नेपाल आइपुगे सन्नी पटेल जाद्रन, कोल्सावाल र ओ डाओड नेपाल आइपुगे कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै
शनिबारको दिन नेपाली फुटबल

महिला फुटबल: मिडफिल्डमा विर्सनाले देखाएको संकेत

काठमाडौं । रेनुका नगरकोटेले महिला राष्ट्रिय टोलीबाट खेल्न थालेको डेढ दशक हुन लागिसक्यो । उनी महिला फुटबलले पाएको अहिलेसम्मकै भरपर्दो मिडफिल्डरमध्ये एक हुन् । रेनुकापछि सरु लिम्बुको नाममा एउटा अर्को गजबको मिडफिल्डरको जन्म भयो । 

रेनुकाले सन् २०१० को साफ च्याम्पियनसिपबाट डेब्यू गरेकी हुन् भने सरुले ठ्याक्कै ६ वर्षपछि २०१६ को साफ च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएकी थिइन् ।

सरुपछि नेपाली फुटबलमा प्रीति राईको उदय भयो । २० वर्षीया प्रीतिले २०२१ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरिन् । आफ्नो लोभलाग्दो खेल कौशलका कारण समर्थकमाझ लोकप्रिय प्रीतिले राष्ट्रिय टोलीमा नभई नहुने खेलाडीका रूपमा आफूलाई स्थापित गरिसकेकी छन् । प्रीति सँगसँगै आइन् दीपा शाही । २०२२ को साफ च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेकी दीपाको उपस्थितिले नेपाली महिला फुटबलको भविष्य थप चम्किलो देखियो ।

गत कात्तिकमा सम्पन्न साफ च्याम्पियनसिप २०२४ मा नेपालको मध्यपंक्ति यिनै रेनुका, सरु र प्रीतिले सम्हालेका थिए । भुटानविरुद्धको पहिलो खेलमा गम्भीर घाइते भएकी दीपाले भने प्रतियोगिताका बाँकी खेल गुमाइन् ।

नेपाली महिला फुटबल एकहिसाबमा भाग्यमानी पनि छ । भाग्यमानी किनभने विना कुनै पूर्वाधार र सेवासुविधा महिला फुटबलले मिडफिल्डमा यस्ता स्टार खेलाडी निरन्तर रूपमा पाइरहेको छ । फुटबलको मेरुदण्ड मानिने मिडफिल्डमा प्रभावशाली खेलाडी पाउँदा आफ्नो स्तरअनुसार प्रभाव मैदानमा छर्लङगै देखिन्छ । सबै आफ्नै बलबुतोमा खेल जिताउन सक्ने क्षमताका खेलाडी हुन् ।

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा आर्मीकी फरवार्ड अमिषा कार्कीसँग बल खोस्दै  विर्सना चौधरी (रातो), तस्विर : एन्फा ।

यी चार खेलाडीको प्रसंग अहिले किन जोडिएको हो भने नेपाली महिला फुटबलले विर्सना चौधरीको रूपमा अर्को एउटा असाधारण प्रतिभा पाएको छ । जसलाई उचित तबरबाट हुर्काउन सके राष्ट्रिय टोलीले मिडफिल्डमा अर्को एउटा राम्रो विकल्प पाउने छ ।

एन्फा मुख्यालय मैदानमा राष्ट्रिय महिला लिगको दोस्रो चरण चलिरहँदा केही नयाँ अनुहारले आशाको किरण देखाएका छन् । जसमध्ये नेपाल पुलिसकी मिडफिल्डर विर्सनाले सबैको ध्यान आफूतिर तानेकी छन् । १७ वर्षीया सेन्ट्रल मिडफिल्डर विर्सना लिगकै चर्चित खेलाडीका रूपमा दरिएकी छन् ।

बल स्क्यान गर्नु, पहिलो टचमै राम्रो टर्न लिनु, पासका लागि राम्रो भिजन हुनु, मैदानको अधिकांश भाग कभर गर्नु विर्सनामा भएका फुटबल गुणहरू हुन् । विपक्षी आक्रमण रोक्ने खुबी राख्ने विर्सना बल खोस्न पनि उत्तिकै माहिर छन् । यही कारण हो, आवश्यक एक्सपोजर पाए विर्सनालाई छिट्टै राष्ट्रिय टोलीको जर्सीमा देख्न सकिन्छ ।

‘विर्सनालाई अलिकति समय लाग्न सक्छ । तर यही हिसाबमा खेल्दै गइन् भने चाँडै नै उनलाई राष्ट्रिय टोलीमा देख्न पाइन्छ,’ पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवाल भन्छन्, ‘विर्सना करिअरको सुरुआती समयमा छ । उसले पर्याप्त एक्सपोजर पाउन अझै बाँकी छ । एपिएफ र आर्मी जस्तो बलियो टोलीविरुद्ध खेलिरह्यो भने निश्चित रूपमा विर्सनालाई हामीले अबको केही वर्षमै सिनियर टोलीमा देख्न सक्छौं ।’

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको पहिलो चरणमा त्रिभुवन आर्मीविरुद्ध ‘प्लेयर अफ दि म्याच’ चौधरी विर्सना चौधरी , तस्विर: एन्फा ।

वर्ष २०८१ विर्सना आफैंका लागि विशेष रह्यो । वर्षको पहिलो महिनादेखि नै विर्सना व्यावसायिक फुटबल खेल्नमा व्यस्त रहिन् । वैशाखमा सम्पन्न एन्फा राष्ट्रिय महिला लिग छनोटमा विर्सनाले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेकी थिइन् । सुर्खेतमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै काठमाडौंको टिकट काट्न सफल भएको थियो । विर्सनाले सबै खेल पहिलो रोजाइमै खेलेकी थिइन् ।

विर्सनाले असोजमा सम्पन्न राष्ट्रिय लिगको पहिलो चरण भने खेलिनन् । टोलीको आन्तरिक विवादका कारण विर्सना काठमाडौं ओर्लिइनन् । किन ? धनगढीको अलस्टार फुटबल एकेडेमीमा छनोट खेलेका २६ खेलाडीलाई सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए । तर, ‘बी’ लाइसेन्स नभएका कारण सुदूरपश्चिम फुटबल संघले तामाङको स्थानमा दिनेश लामा योञ्जनलाई मुख्य प्रशिक्षक बनाएपछि कलह चरम उत्कर्षमा पुगेको थियो ।

प्रशिक्षक परिवर्तनपछि संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लैजाने र यसका लागि पुनः खेलाडी छनोट गर्ने निर्णय गरेको थियो । छनोट खेलेका खेलाडीले प्रशिक्षक परिवर्तन गर्न नहुने र सबै खेलाडी काठमाडौं जान पाउनुपर्ने माग गरेपछि विवाद बढेको थियो । यही कारण २६ मध्ये २४ खेलाडी टोलीमा जोडिएनन् । पूरै नयाँ टोली लिएर सुदूरपश्चिम काठमाडौं ओर्लियो । काठमाडौंको बस नचढ्नेमा विर्सना पनि थिइन् ।

‘पुनः छनोट हुने कुरा निस्किएपछि छनोट खेल्ने केही बहिनीहरूले लिग खेल्न नपाउने जस्तो स्थिति सिर्जना भयो । पछि सल्लाह गरेरै उपस्थिति नजनाउने निर्णयमा पुग्यौं,’ विर्सना सम्झिन्छिन्, ‘काठमाडौं आउनका लागि हामीले एकदमै मिहिनेत गरेका थियौं । अन्तिम समयमा खेल्न नपाउँदा दुःख लागेको थियो ।’

एन्फा राष्ट्रिय महिला लिग छनोटमा सुदूरपश्चिम टोलीको टोलीसँग विर्सना चौधरी (पछिल्लो रोको बायाँबाट दोस्रो) , तस्विर: एन्फा ।

विर्सना, अञ्जली चन्द, अस्मिता चौधरीलगायतका खेलाडीकोे पूरा टिम नै अनुपस्थित भएपछि सुदूरपश्चिम पहिलो चरणका सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

पुसमा नेपाली राष्ट्रिय यु१९ टोलीले राजधानीको दशरथ रंगशालामा भुटानको यु-१९ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले विर्सनालाई पहिलो रोजाइमै मैदान उतारेका थिए । १–१ को बराबरीमा सकिएको उक्त खेलमा विर्सनाले राम्रो प्रदर्शन गरेकी थिइन् । जसले गर्दा विर्सनालाई पुलिसको बाटो खुलेको हो ।

नेपाली टोलीका व्यवस्थापक थिइन् निरु थापा । निरु पुलिसकी कप्तान हुन् । निरुले विर्सनाको प्रतिभा राम्ररी बुझेकी थिइन् । त्यसैले उनले विर्सनालाई पुलिसबाट खेलाउन कत्ति पनि ढिला गरिनन् । सुदूरपश्चिमबाट रिलिज पाएसँगै विर्सनाले पुलिसको प्रतिनिधित्व गर्ने मौका पाइन् ।

विभागबाट खेल्नु विर्सनाका लागि ठूलो अवसर थियो । जुन अवसरलाई उनले राम्ररी सदुपयोग गरिन् । सुपर स्टेजको दोस्रो खेलमै विर्सनाले विभागीय डर्बीअन्तर्गत त्रिभुवन आर्मीविरुद्ध ‘प्लेयर अफ दी म्याच’को अवार्ड जितिन् ।

‘निरु दिदीले मलाई एक्सपोजर पाइन्छ भनेर पुलिसमा ल्याउनुभएको हो,’ विर्सना भन्छिन्, ‘उहाँले मेरो खेल साफ यु–१९ देखि नै हेरिरहनुभएको थियो ।’

बंगलादेशमा सम्पन्न साफ महिला यु-१९ च्याम्पियनसिप २०२४ मा सहभागी नेपाली टोलीको टोलीसँग विर्सना चौधरी (पछिल्लो रोको बायाँबाट तेस्रो) , तस्विर: साफ ।

विर्सनाले भुटानविरुद्धको मैत्रीपूर्ण खेलअघि बंगलादेशमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप २०२४ मा पनि खेलेकी थिइन् । जिल्ला, प्रदेश र केन्द्रीय तह हुँदै बन्द प्रशिक्षणमा छानिएकी विर्सनापछि बंगलादेश जाने २३ सदस्यीय टोलीमा अटाएकी थिइन् ।

बंगलादेशमा मुख्य प्रशिक्षक बालगोपाल साहुखलले विर्सनालाई समूह चरणका तीनवटै खेलमा पहिलो रोजाइबाटै खेलाए । नेपालको यात्रा भने सुखद रहेन । चार देशसम्मिलित प्रतियोगितामा भुटानविरुद्ध जित पाएको नेपाल बंगलादेश र भारतसँग पराजित हुँदै घर फर्केको थियो ।

कैलालीको धनगढी उपमहानगरपलिका घर भएकी विर्सनाले साथीहरूको लहैलहैमा फुटबल खेल्न सुरु गरेकी थिइन् । पाँच वर्ष भयो विर्सनाले फुटबल खेल्न थालेको ।

‘फुटबल खेल्न खासै रहर थिएन । स्कुलमा साथीहरूले फुटबल खेल्न कर गर्थे । खेल, रमाइलो हुन्छ भनेर भनेपछि फुटबलमा लागेकी हुँ,’ विर्सना ती दिन सम्झन्छिन्, ‘मैले ६ कक्षामा हुँदा पहिलो पटक फुटबल खेलेको थिएँ । पछि विस्तारै फुटबलको महत्व बुझ्दै गएँ । हल्का हल्का अनुभव पनि हुँदै गयो । अहिले यो अवस्थामा छु ।’

काठमाडौंको दशरथ रंगशालामा सम्पन्न भुटान यु-१९ टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय गान गाउँदै विर्सना चौधरी (१८ नम्बर जर्सी), तस्विर: एन्फा ।

विर्सनाले २०७८ को कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा धनगढी उपमहानगरपलिकाको प्रतिनिधित्व गरेकी थिइन् । चन्द्रा भण्डारी, रेखा पौडेल र उषा नाथसम्मिलित धनगढी च्याम्पियन हुँदै राष्ट्रिय लिगमा छनोट भएको थियो । उपमेयर कपपछि विभिन्न जिल्लामा सिनियर स्तरका प्रतियोगिता खेल्दै आएकी विर्सनाको यात्रा अहिले नेपाल पुलिससम्म आइपुगेको छ ।

विर्सना त्यस्तो खेलाडी हुन्, जोसँग एउटा स्तरीय मिडफिल्डमा हुनुपर्ने अधिकांश गुण छ । सिनियर करिअरको सुरुआती वर्षमा रहेकी विर्सनाले एक न एकदिन अन्तर्राष्ट्रिय डेब्युको अवसर पाउने छिन् नै ।

यी सबै कुराहरूबीच विर्सना रेनुका र सरुको बाटोमा छिन् भन्न मिल्ला कि नमिल्ला ?

प्रशिक्षक सिलवाल हाँस्दै भन्छन्, ‘यदि तपाईं रेनुकाको कुरा गर्नुहुन्छ भने रेनुका र विर्सनाको पोजिसनमा अलिकति भिन्नता छ । रेनुका डिफेन्सिभ मिडफिल्डमा एकदमै राम्रो छिन् । विर्सनाचाहिँ अट्याकिङ जोनमा खेल्ने खेलाडी हो । तर, एउटा कुरा के छ भने बल आफूतिर आउँदा रेनुकाले जसरी बललाई कन्ट्रोल गर्छिन्, विर्सना पनि त्यस्तै छिन् । मलाई लाग्दैन विर्सनाको खुट्टाबाट बल फुत्किन्छ ।’