‘इपिएलले क्रिकेटमात्र होइन सिंगो नेपालकै ब्रान्डिङ गर्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तर खेल व्यवसायी भएको धेरै वर्ष भइसकेको छ । खेलकुदलाई पूर्ण व्यावसायिक बनाउनुपर्छ भन्ने अभियानमा लागेका आमिरको नेतृत्वमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) ले चौथो संस्करणको उमेर अर्को साता कीर्तिपुरको मैदानमा छुनेछ । 

आफूले खेलेको खेलबाट व्यावसायीकरणको अभियान सुरु गरेका आमिर पूर्ण रूपमा व्यावसायिक नभइकन कुनै पनि खेलको विकास सम्भव नहुने विचार राख्छन् । 

खेलाडी जीवनदेखि नै विभिन्न खालका विवादमा तानिइरहने आमिरलाई अहिले पनि असमझदारीहरूले अल्झाइरहन्छ । उनलाई खासगरी परम्परागत क्रिकेट परिवारका सदस्यहरू ‘नाफाखोर’ व्यापारी, पैसाको पछि मात्र दौड्ने भनेर आलोचना गर्छन् । 

नेपाली खेलकुदमा फ्रेन्चाइज प्रतियोगिताको बीउ रोप्ने आमिरलाई परम्परागत समाजले त्यसो भनिरहे पनि उनी त्यस्ता आलोचनालाई ‘व्यावसायिकताको यात्रा थाल्दाको स्वाभाविक प्रतिक्रिया’ का रूपमा लिन्छन् । 

फ्रेन्चाइज प्रतियोगिताको बीउ रोप्ने अभियन्तासँग अर्को हप्ता कीर्तिपुरमा सुरु हुने इपिएलको चौथो संस्करण, नेपाल क्रिकेट संघसँगको सम्बन्ध, उनीमाथि लाग्ने गरेका आरोपहरू र व्यावसायिकता अभियानलगायतका विषयमा खेलाडीले गरेको कुराकानीको सम्पादित अंश :

इपिएलको तयारी कस्तो भइरहेको छ त ?

हामी चौथो संस्करणमा छौं । तीन संस्करण सकियो । सन् २०१६ बाट सुरु भयो । हामीले १६, १७, १८ मा लगातार गर्यौं । २०१९ मा चाहिँ हामीले ग्याप दिएका थियौं । २०२० मा भिजिट नेपाल वर्ष भएकाले सेड्युल मिलाउन १५ महिना ग्याप दिएका थियौं । दुर्भाग्य, कोभिड १९ का कारण स्थगित गर्नुपर्यो । त्यसैले २०२१ मा चौथो संस्करणमा छौं । सबै तयारी युद्धस्तरमा चलिरहेको छ ।

गत वर्ष कोभिडले पूरा तयारी भएर पनि स्थगित गर्नुपर्यो । ठूलो घाटा भयो होला नि ?

घाटा त भयो । यो पूरा संसारका लागि घाटा हो । मानवताका लागि पनि लस हो । दुर्भाग्य, खेलकुदलाई पनि ठूलो घाटा भयो । विम्बल्डनजस्तो विश्वयुद्धमा पनि नरोकिएको, सय वर्षभन्दा लामो इतिहास भएको प्रतियोगिता रोकियो । ओलम्पिक एक वर्ष स्थगित भयो । आइपिएल दुई भागमा गर्नुपर्यो । त्यो पनि भारतबाहिर गर्नुपर्यो । त्यसैले इपिएललाई पनि घाटा भएको छ । तर स्वार्थी भएर सोच्नुहुँदैन । यो सबैका लागि अप्ठेरो बेला हो । हामी अहिले पनि त्यही अप्ठेरोबाट गुज्रिइरहेका छौं । कतिपय कुरामा सहज भइसकेको छ । तर अब संसार सामान्यीकरणतर्फ गइरहेको छ । 

गत वर्ष क्रिस गेल आउने भनिएको थियो, प्रतियोगिता नै भएन । यसपालि ठूला स्टार ल्याउने तयारी के छ ?

हामीले यसपल्ट पनि गेल ल्याउन धेरै प्रयास गर्यौं । तर आइपिएलको मितिले गर्दा अप्ठेरो भयो । मिति जुधेकाले आइपिएललाई प्राथमिकतामा राखेर गेल यसपालि आउन नसकेका हुन् । तर जहिले पनि कुरा गर्दा इपिएलको प्रोग्रेस, चार्म, नेपाली क्रिकेटको ग्ल्यामर गेललाई एकदमै मन परिरहेको छ । गेलले एउटा साथीको नाताले मसँग अर्को संस्करणमा मिति जुधेन भने आउँछु भन्ने प्रतिबद्धता जनाएका छन् । 

हामीले गेललाई प्राथमिकतामा राखेर नै फेब्रुअरीमा मिति तय गरेका हौं । गेलकै लागि हामीले सेप्टेम्बर २५ को मिति तय गरेका थियौं । तर मेमा कोभिडका कारण आइपिएल रोकियो । मेको घटना कसैले नसोचेको भयो । भविष्य कसैलाई थाहा हुँदैन । दुई हप्तापछि के हुन्छ भन्ने नै अनुमान गर्न सकिन्न । गत वर्ष हामीले पनि अन्तिम समयमा गएर इपिएल रोक्नुपरेको थियो । अहिले नेपाल सरकारको भ्याक्सिनेसन गति र संसार नै सामान्यीकरणतर्फ गइरहेका कारण हामी यसपालि राम्ररी गर्न सक्नेमा आशावादी छौं । 

नेपाली दर्शकले टेलिभिजनमा मात्र देख्न पाउने विश्व क्रिकेटका ठूला नामहरू कीर्तिपुरमा ओर्लने भएका छन् । यसको मतलब इपिएल ठूलो भएकै हो ?

इपिएलको सोच ठूलो छ । नेपाल क्रिकेटको लोकप्रियता ठूलो छ । यो इपिएलमात्र ठूलो भएर कहिल्यै पनि हुँदैन । नेपाली टिमको प्रगति, वरीयता र टिमले बनाएको ‘फ्यान फलोइङ’ जुन छ, इपिएल त्यसको एउटा भागमात्र हो । 

एउटा टिमका रूपमा नेपाल नै सबैभन्दा राम्रो भएको हो । यहाँको ‘फ्यान फलोइङ’ हामी सबैलाई थाहा छ । आइसिसीले पनि नेपालको ‘फ्यान फलोइङ’ टेस्ट नखेल्ने देशमध्ये सबैभन्दा राम्रो छ भनेर बुझेको छ । इपिएल त्यही हिसाबमा ठूलो भएको हो । आफैमा इपिएल ठूलो भएको होइन । सोचले र नेपाली क्रिकेटको लोकप्रियताले मात्र हो । 

हामीले सकारात्मक सोचेका छौं । नेपाली क्रिकेटमा केही योगदान गर्न सक्छौं कि भन्ने सोचेका छौं । नेपाल क्रिकेट आफैमा धेरै ठूलो छ । त्यसको सबैभन्दा ठूलो कारण भनेको खेलाडीको प्रदर्शन, उहाँहरूले हासिल गर्नुभएको वरीयता हो । 

अहिले हामी ट्वान्टी २० को १२औं स्थानमा छौं । १० वटा वरीयता त टेस्ट खेल्ने देशले नै लिन्छन् । हामी कुनै टेस्ट राष्ट्रभन्दा पनि ट्वान्टी २० मा माथि छौं, उदाहरणका लागि हामी आयरल्यान्डभन्दा माथि छौं । 

एउटा टिमका रूपमा नेपाल नै सबैभन्दा राम्रो भएको हो । यहाँको ‘फ्यान फलोइङ’ हामी सबैलाई थाहा छ । आइसिसीले पनि नेपालको ‘फ्यान फलोइङ’ टेस्ट नखेल्ने देशमध्ये सबैभन्दा राम्रो छ भनेर बुझेको छ । इपिएल त्यही हिसाबमा ठूलो भएको हो । आफैमा इपिएल ठूलो भएको होइन । सोचले र नेपाली क्रिकेटको लोकप्रियताले मात्र हो । 

फ्रेन्चाइज प्रतियोगिता गरेवापत आइसिसीलाई २० हजार डलर बुझाउनुपर्छ । त्यो गाह्रो पक्ष होइन र ?

यसपल्ट पनि हामीले आइसिसीलाई बुझाएका छौं । यसको तयारी हामीले २०१९ को अगस्टमा आइसिसीलाई निवेदन गरेका थियौं । त्यो बेला क्यान प्रतिबन्धमा थियो । २०२० मा फुकुवा भयो । त्यसैले यसपालि आइसिसीलाई नै बुझाउनुपर्यो । तर अर्को संस्करणदेखि क्यानसँग अनुमति लिने हो भनेर आइसिसीले भनिसकेको छ । त्यसका लागि पैसा तिर्नुपर्ने, नपर्ने क्यानसँगै हो । 

यहाँ कोही पनि इपिएलको फ्रेन्चाइज भएर करोडपति बन्छु भनेर आउनुभएको छैन । उहाँहरू आफ्नो इन्डस्ट्रीमा माहिर हुनुहुन्छ । तर क्रिकेटको मायाले उहाँहरू यहाँ आउनुभएको छ ।

कुनै पनि मोडललाई सस्टेनेबल बनाउनुपर्छ । क्रिकेट जहिले पनि हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले यसको विकासमा असर नगर्ने गरी खेलाडीको सेवासुविधा र आर्थिक पाटोमा पनि सहयोग हुनुपर्छ । खेलाडीहरूले घरेलु क्रिकेट खेलेपछि राम्रो रकम पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकताको कुरा हो । खेलेरै राम्रो जीवन बाँच्न सकिन्छ भन्ने ग्यारेन्टी गर्ने आधार हामी इपिएलबाट बनाउन चाहन्छौं । 

अर्को कुरा, हाम्रो फ्रेन्चाइजहरू नेपालका सबै ठूला उद्योगपतिहरू छन् । उनीहरूलाई क्रिकेटको माया एकदमै छ । यहाँ कोही पनि इपिएलको फ्रेन्चाइज भएर करोडपति बन्छु भनेर आउनुभएको छैन । उहाँहरू आफ्नो इन्डस्ट्रीमा माहिर हुनुहुन्छ । तर क्रिकेटको मायाले उहाँहरू यहाँ आउनुभएको छ । तत्काल कसैको पनि रिटर्न हुँदैन । इपिएल वा फ्रेन्चाइज टिम कसैको पनि हुँदैन । उहाँहरूले पनि कति वर्ष लगानी गर्नुपर्छ । उहाँहरूले सपोर्ट गर्नुभएको हो । 

यो हामीले दीर्घकालसम्मका लागि दिगो होस् भन्ने तरिकाले अगाडि बढाउन खोजेका छौं । यसमा टेलिभिजन राइटको कुरा आउँछ, प्रायोजनको कुरा आउँछ, टिकटको कुरा आउँछ । त्यसले गर्दा सबैलाई ‘विन विन सिचुएसन’ हुनुपर्छ भन्ने मोडालिटीमा इपिएल गइरहेको छ ।

प्रत्येक वर्ष इपिएलमा नयाँ केही न केही हुने गरेको छ । यसपालि चाहिँ नयाँ के हुन्छ ?

नयाँभन्दा पनि हामी सुधारमा जान्छौं । कसरी केही प्रगति गरौं भन्ने हाम्रो ध्यान हुन्छ । इपिएलमा कुनै नयाँ कामचाहिँ हुँदैन । अरू देशमा स्थापित भएका फ्रेन्चाइज लिगहरूलाई हामीले पछ्याउन खोजेको मात्र हो । 

यसलाई निरन्तरता दिने नै हाम्रो लागि ठूलो चुनौतीको कुरा छ । हरेक वर्ष यसलाई आयोजना गर्नुपर्छ र कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने हो । राम्रो गर्ने भन्नाले खेलाडी र लिगको स्तर सबैभन्दा ठूलो कुरा हो । कस्तो खेलाडी आइरहेका छन् भन्ने महत्वपूर्ण हुन्छ । यसको मार्केटिड महत्वपूर्ण हुन्छ । टेलिभिजनमा कति मानिसले हेर्छन्, मैदानमा कति आउँछन् भन्ने कुरा छ । 

जसले प्रायोजन गरेको छ, उसको रिटर्न अफ इन्भेस्टमेन्ट (आरओआई) कस्तो भइरहेको छ भन्ने कुरा मुख्य हुन्छ । प्रायोजन हाम्रो एउटा एकदमै महत्वपूर्ण एजेन्डा हुन्छ । तर जहिले हामी प्रायोजकलाई दान होइन, इपिएल लगानीको मोडालिटी हो तपाई यहाँ आफ्नो ब्रान्डलाई इन्गेज गर्नुस् र क्रिकेटको राम्रो दर्शकका कारण तपाईले आरओआई पाउनुहुन्छ भनेर बुझाउँछौं । यो हाम्रो ठूलो चुनौती हो ।

सुधारको कुरामा टेलिभिजन प्रोडक्सन स्तर, खेलाडीको स्तर, भौतिक पूर्वाधार जसमा हाम्रो धेरै कमी छ । त्यसलाई कसरी मिलाउन सक्छौं भन्ने हो । हामी हरेक वर्ष अघिल्लो वर्षभन्दा राम्रो गर्ने प्रयासमा हुन्छौं । 

गत वर्षसम्म हामीले नेपालमा मात्र देखाउने योजना थियो । अहिले चाहिँ हामीले १ सय ५५ देशमा टेलिभिजनबाट इपिएल देखाउँदै छौं । यो नेपाली खेलकुदको मात्र होइन, पूरै देशकै एकमात्र इभेन्ट हो, जुन नेपालभन्दा बाहिर देखाइँदै छ । भारतमा ७ करोड ८० लाख डाउनलोड भएको फ्यानकोडलाई हामीले प्रशारण अधिकार बेचेका छौं ।

इपिएल भारतमा देखायौं र यसको ‘भ्युअरसिप’ भयो भने खेलाडीलाई ठूलो अवसर हुन्छ । हामीलाई सन्दीप लामिछानेको मात्र प्रतिभा थाहा थियो । तर यहाँ अरू धेरै प्रतिभा छन् । उनीहरू उत्साही छन् । उनीहरू आइपिएल, सिपिएल वा बिग बास जस्ता लिगमा पुग्न सक्छन् । 

यति धेरै देशमा लाइभ देखाइँदा नेपालको पनि ठूलो प्रवद्र्धन हुन्छ । अस्ट्रेलियामा मान्छेले इपिएल हेर्यो भने लिग फ्रम नेपाल भन्छ । 

यसैगरी हामी बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज जस्ता देशमा लाइभ राइट दिएका छौं । यसबाट सबैभन्दा पहिलो फाइदा भनेको हाम्रा क्रिकेटरलाई हो । उदाहरणका लागि कुशल भुर्तेल हो । त्रिदेशीय शृंखलादेखि लिएर हिजोसम्म उनको प्रदर्शनमा एकरूपता छ । त्यसैले यहाँ देख्न पायो भने ऊ जस्ता खेलाडीका लागि ठूलो प्रतियोगिताको ढोका खुल्न सक्छ । सबैभन्दा मुख्य परिवर्तन यही हो । 

यति धेरै देशमा लाइभ देखाइँदा नेपालको पनि ठूलो प्रवद्र्धन हुन्छ । अस्ट्रेलियामा मान्छेले इपिएल हेर्यो भने लिग फ्रम नेपाल भन्छ । 

फक्स स्पोर्ट्सले लाइभ गर्ने, विश्वभर देखाउने अनि इन्टिग्रिटी अफिसर राखेर गेम गराउँदा गाह्रो होला नि ?

लाइभ राइट दिनुहुन्छ भने क्रिकेट अपरेसन पनि क्लिन राख्नुपर्यो नि त । त्यसैले हामीले एसियु अफिसर दे भनेर आइसिसीलाई पाँचवटा इमेल पठायौं । पहिला इपिएलमा उनीहरू टेम्प्लेटमात्र पठाउँथ्यो र यो तेरो एन्टी करप्सन कोड हो भनेर । अनि हामी खेलकुद परिषद् र नेपाल पुलिससँग मिलेर एन्टी करप्सन युनिट बनाउने गर्थ्यौं । तर यो पटक चाहिँ पाँचवटा इमेल पठाएपछि उनीहरूले एउटा एसीयु अफिसर पठाएँ अनि यही कामका लागि थप इमेल नगर पनि भने । 

उनीहरूलाई वाक्क लाग्यो, त्यो बेग्लै कुरा हो । तर मेरो लागि चाहिँ ठिक हो । जति लिग ठूलो हुँदै जान्छ, क्रिकेटलाई क्लिन राख्ने जिम्मेवारी हामी सबैले लिनुपर्छ । त्यसमा विभिन्न मान्छेहरू आउँछन्, फिक्सिडका लागि । बेटिडका लागि आउन सक्छन् । तर, अन्ततः आइसिसीले एसीयु पठाएको छ र नेपाल पुलिस, गृह मन्त्रालयसँग पनि मैले कुरा गरिसकेको छु । उहाँहरूले हरेक हिसाबमा यसलाई क्लिन राख्ने, इन्टिग्रिटी अफिसर नियुक्त गर्ने र यो इपिएल क्लिन हिसाबमा होस् भन्ने हामी सबैको चाहना हो । 

लगानीको हिसाबमा इपिएलको कुल लगानी कति पुग्यो होला ?

यस्तो छ कि यो सबैको लगानी हो । भिजनको लगानी हो । सोचको लगानी हो । मलाई के खुसी लाग्छ भने फ्रेन्चाइजहरूसँग पनि वेभ लेन्थ मिल्छ । चेक ब्यालेन्स सबैमा हुनुपर्छ । ब्यालेन्स सिट सबैसँग हुन्छ । उहाँहरूले पनि अन्धाधुन्ध खर्च गरेको होइन । 

फिगर दिन गाह्रो हुन्छ । तर सस्टेनेबल मोडल बनाएको छ । कतिपय अवस्थामा इपिएलले खेलाडीका लागि लगानी गरेको छ । किनभने हाम्रो पनि इन्टरेस्ट हुन्छ कि ठूला खेलाडी आऊन भनेर । त्यसका लागि फ्रेन्चाइजलाई पनि भार एक्लो नपरोस् भनेर हामी सहकार्य गर्छौ । स्टार खेलाडी आउँदा लिगलाई पनि फाइदा हुन्छ । त्यही भएर हामीले सहकार्य गरेका हौं । 

इपिएल वा आमिर अख्तर पैसा कमाउनमात्र काम गर्छ भन्ने आरोप छ । त्यही भएर प्रायोजन रकम र खेलाडीको पारिश्रमिक पनि लुकाउँछ भन्ने छ । यो त सही जस्तो देखियो नि ?

एउटा कुरा के बुझ्नुपर्छ भने यो एउटा निजी लिग हो । अनि यो चाहिँ इपिएलको मात्र प्राथमिकता नभएर प्रायोजकको पनि चाहना रकम नखुलाउने छ । आरोपभन्दा यो हाम्रो नीति हो । हामीले कहिल्यै फलानाले कयामो, फलाना घाटामा गयो, हामीले यसलाई यो दियौं जस्ता कुरा सार्वजनिक गर्दैनौं । 

हामी क्रिकेट संघ होइन, एनजिओ पनि होइन । क्रिकेट संघ र निजी निकायमा कहीं न कहीं फरक नै हुन्छ । हामीले निजी संस्थासँग काम गर्दा उहाँहरूले पनि रकम नखुलाउन अनुरोध गर्नुहुन्छ । 

विदेशी खेलाडीहरू पनि आफ्नो वास्तविक पारिश्रमिक लिएर आउनुहुन्न । विदेशी खेलाडी नेपालप्रतिको आकर्षणले आउनुहुन्छ । उदाहरणका लागि साहिद अफ्रिदी वा क्रिस गेलको पहिलो आकर्षण भनेको नेपाल हो ।

उनीहरूको भ्रमण गर्ने ‘विस लिस्ट’मा नेपाल हुन्छ । म नेपाल जान्छु, हिमाल चढ्छु, ट्रेकिङ गर्छु भन्ने हुन्छ । हामीले उनीहरूलाई यही कुराबाट लोभ्याउँछौं । उनीहरू वास्तवमा कम पैसामा आउँछन् । उनीहरूको रकम खुलायो भने अन्य प्रतिस्पर्धात्मक लिगमा समस्या हुन्छ । नेपालमा यति कम पैसामा खेलेर आएको भनेर उनीहरूको बजार विग्रन्छ । त्यसैले पनि खुलाउन मिल्दैन । 

विदेशी खेलाडीलाई कसरी फकाउनुपर्छ भन्ने हामीलाई थाहा छ । उनीहरूलाई गल्फ, एभरेस्ट साइड सिन गर्ने, माउन्टेन फ्लाइट गर्नेलगायतका आतिथ्यताबाट तान्ने हो ।

क्रिस गेललाई कोङदेसम्म सन्दीप लामिछानेसँग लगेर देशकै ब्रान्डिङ गर्नेजस्ता योजना बनाएका थियौं । हामीले उनीहरूलाई कति गरेर फकाएर ल्याएको हुन्छ । यहाँ पैसा खुलायो भने के होला ? त्यसैले उनीहरूको सम्झौतामा रकम नखुलाउने लेखेको हुन्छ । यो कुरा सबैले बुझिदिनुपर्छ । डिसहोमसँगको सम्झौतामा क्यानले समेत खुलाएन पैसा । 

रकम नै पारदर्शी नभएपछि करबाट पनि पन्छिन पाइयो भन्ने त होइन नि ? 

पक्कै पनि हाम्रो ब्यालेन्स सिट हुन्छ । कर कार्यालयमा जान्छ । त्यसैको आधारमा हामी कर तिर्छौं । हाम्रा खेलाडीले पनि त्यसैको आधारमा कर तिर्ने हो । हामीले कर तिरेर बाँकी रकममात्र उनीहरूलाई दिने हो । 

खेलकुद उद्योगबाट सबैभन्दा धेरै कर तिरेको इपिएल हो, दिनुस न हामीलाई पनि प्रमाणपत्र भनें । हामीलाई पनि राम्रो लाग्छ । मैले सम्बन्धित ठाउँमा भन्ने हो । भनेको छु । सबैलाई भन्दै हिँड्ने होइन नि ।

तपाईंहरूको जानकारीका लागि हामी नेपालको खेलकुद उद्योगमा सबैभन्दा बढी कर तिर्नेमध्ये एक हौं । मैले अस्ति लाजिम्पाटको कर कार्यालयमा गएर सानले भनें, तपाईंहरू अरू उद्योगमा सबैभन्दा धेरै कर तिर्नेलाई घोषणा गर्नुहुन्छ र सम्मान गर्नुहुन्छ । सिमेन्टमा होङसीलाई गर्नुभयो, एभिएसनमा यती एयरलाई गर्नुभयो । खेलकुदबाट पनि विधा राख्नुपर्यो । खेलकुद उद्योगबाट सबैभन्दा धेरै कर तिरेको इपिएल हो, दिनुस न हामीलाई पनि प्रमाणपत्र भनें । हामीलाई पनि राम्रो लाग्छ । मैले सम्बन्धित ठाउँमा भन्ने हो । भनेको छु । सबैलाई भन्दै हिँड्ने होइन नि । कर नतिरी त प्रतियोगिता गर्नै पाइन्न नि । 

क्यानले आफैं एनपिएलको योजना अगाडि बढाएको छ रे । त्यसो भए त इपिएल धरापमा पर्ला त ?

क्यान एक गभर्निड बडी हो, इभेन्ट उसले गर्नैपर्छ । हामीले पनि आफ्नो हिसाबमा कठिन समयमा लगानी गरेका हौं । त्यतिबेला क्यान आइसिसीबाट प्रतिबन्धमा थियो । त्यो बेला हामीले इभेन्ट गरिरहेका थियौं । क्यानले कठिन समयमा समेत काम गरेको हाम्रो मूल्यांकन गर्छ भन्नेमा म विश्वस्त छु । 

हामीले आइसिसी र परिषदको अनुमतिमा नियमअनुसार क्लिन प्रतियोगिता गरेको हो । क्यानकै अनुमतिमा गरिरहेका छौं । त्यसैले यसलाई रोक्ने हिसाबमा क्यान जाँदैन । भोलि क्यानको लिग आउला रे । त्यसपछि को राम्रो को नराम्रो, कस्को लगानी कति भन्ने कुरा आउला । 

हामीलाई पनि क्यानले आफ्नो लिग ल्याओस् भन्ने चाहना छ । यदि हामीले कहींबाट भूमिका निभाउन सक्यौं भने पक्का क्यानलाई सहयोग गर्छौं । चाहे इपिएललाई क्यानको आधिकारिक लिग बनाएर होस् कि या इपिएलले एउटा कन्सल्ट्यान्टको भूमिका खेलेर होस् । हामी जुनसुकै कुरामा खुला मनले अगाडि बढने छौं । 

हामीले क्यानबाट अहिलेसम्म कुनै पनि थ्रेट फिल गरेका छैनौं । पछिल्लो समय क्यानका पदाधिकारीहरूसँग कुरा भइरहँदा पनि अर्को वर्ष लिग हुँदैन भनेर उहाँहरूले भन्नुभएको छैन । यो वर्षको अनुमतिका लागि आइसिसीको फर्म क्यानले नै भरेको हो । पहिला क्यानको अनुमतिपछि मात्र हामीले आइसिसीबाट पाएका हौं । पैसा आइसिसीमा बुझाए पनि सबै क्यानको सहयोगले मात्र यो वर्ष इपिएल हुन लागेको हो । 

इपिएलमा नेपाली खेलाडीको छिर्ने बाटो त छ । तर समग्रमा नेपाली खेलाडी र क्रिकेटलाई फाइदा के ?

एक्सपोजर । मिडियामा धेरै कुरा आउँछ । त्यहाँ लेख, समाचार र विश्लेषणदेखि टेलिभिजन दर्शकको पनि कुरा आउँछ । मिडिया धेरै शक्तिशाली हुन्छ । 

जस्तै प्रधानमन्त्री कपको त्यो ओभरले गुल्सन झालाई हिरो बनायो । कोही पत्रकारले त्यसको भिडियोग्राफी राम्ररी गरिदिएको छ । जसले गर्दा त्यो भाइरल भयो र बाध्यताले पनि ऊ अहिले नेपाली टिममा आयो । 

विश्व लिग दुईमा मंगलबार रोहित पौडेलले अचम्मको क्याच लिइदियो । गज्जबको क्याच । तर त्यहाँ राम्रो क्यामरावर्क भएको भए अहिलेसम्म संसारमा त्यो भाइरल हुन्थ्यो । 

हाम्रो इपिएलमा पनि त्यही हिसाबमा एक्सपोजर दिन खोजिरहेका छौं । सबभन्दा पहिला प्रोडक्सन राम्रो गुणस्तरको दिइरहेका छौं । विश्व लिग दुईमा मंगलबार रोहित पौडेलले अचम्मको क्याच लिइदियो । गज्जबको क्याच । तर त्यहाँ राम्रो क्यामरावर्क भएको भए अहिलेसम्म संसारमा त्यो भाइरल हुन्थ्यो । 

त्यो क्याच कुनै विराट कोहलीले लिएभन्दा कम थिएन । उसको स्किल विराट कोहलीभन्दा कम थिएन या कुनै पनि संसारको राम्रो खेलाडीको स्किलभन्दा हिजोको क्याच एकदमै टफ थियो । 

उसले छक्का पनि बचायो, क्याच पनि लियो, गुड एथलेट । तर भिडियो क्वालिटी एकदमै कमजोर थियो । नत्र त्यो आइसिसीले सेयर गर्ने कन्टेन्ट हो क्या । 

हो यहीं राम्रो मिडिया अपरेट र राम्रो प्रोडक्सन भएको भए संसारमै भाइरल हुन्थ्यो । हामीले इपिएलमा त्यो एक्सपोजर दिने कोसिस गरिरहेका छौं । हामीले लगानी गरेको कुरा मिडिया प्रोडक्सनमा हो । 

हामीलाई के लाग्छ भने यो प्रतियोगिताको समाप्तिपछि खेलाडी प्रतिभाको सही प्रबद्र्धन हुन्छ । यसले पक्का खेलाडीलाई अर्को स्तरमा पुर्याउनेछ । विश्वव्यापी एक्सपोजर दिनेछ । 

नेपालको स्पोर्टस इमेज पनि ठूलो हुनेछ । नेपाल एउटा स्पोर्टिङ डेस्टिनेसन हो भनेर हामी ओभरहलमा म्यासेज दिनेछौं । 

नेपालमा क्रिकेटलाई व्यावसायिक गर्नु कत्तिको सम्भव छ । पूर्ण व्यावसायिक बनाउन कति समय लाग्ला ?

धेरै सम्भव छ । नहुने केही पनि छैन । मानिसको चाहनामात्र हो । हामी ट्वान्टी २० को १२औं वरीयतामा छौं । योभन्दा राम्रो अवसर केही हुन्न । 

सन् १९८१ मा श्रीलंकाले टेस्ट मान्यता पाएको थियो । त्यसपछि १५ वर्षमा उनीहरूले विश्वकप जिते । यसको मतलब त्यसबीचमा श्रीलंकाली सरकारले केही न केही काम त गर्यो होला । 

१९८० को दशकमा एउटा पिलकम भन्ने संस्था आएको थियो । त्यो भनेको पाकिस्तान, इन्डिया, लंका कमिटी हो । त्यो संस्थाले दक्षिण एसिया विश्व क्रिकेटमा बलियो हुनुपर्छ भन्यो । 

आज हामीले देखिरहेका छौं, संसारको सबैभन्दा शक्तिशाली क्रिकेटिङ देश नै दक्षिण एसियामा छन् । त्यही पिलकमको योगदान छ । आज बंगलादेश र अफगानिस्तान पनि टेस्ट देश भए । 

हामी त हरेक हिसाबमा राम्रो रणनीतिक पोजिसनमा छौं । हाम्रो आफ्नो क्रिकेटको बजार राम्रो छ, हाम्रो आफ्नो क्रिकेट टिम राम्रो छ । हामी भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको बीचमा छौं । 

हामीले हरेक हिसाबमा उनीहरूलाई अप्रोच गर्नुपर्छ । अप्रोच गरेर उनीहरूको लिग सिस्टममा छिर्नुपर्छ । भारतको घरेलु सिजनमा छिर्नुपर्छ । त्यहाँबाट बिसिसिआईसँग केही सहयोग लिन सकिन्छ कि भौतिक पूर्वाधारको क्षेत्रमा । 

मेरो विचारमा हरेक हिसावमा हामी तयार छौं । तर यसका लागि सबैको सोच र विचार एक हुनुपर्छ । संगठित प्रयास भए हुन्छ । यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सक्यो भने पूर्ण व्यावसायीकरण सम्भव छ । 

यो क्रिकेट संघले मात्र गरेर हुँदैन । हो सबैभन्दा ठूलो जिम्मेवारी क्रिकेट संघको हो । तर, खेलकुदलाई हेर्ने सरकारी दृष्टि परिवर्तन हुनु जरूरी छ । सबैभन्दा कम प्राथमिकता दिने मानसिकता, खेलकुदलाई दान लिने क्षेत्रको रूपमा मात्र लिइएको छ । 

खेलकुद समाजको एउटा महत्वपूर्ण अंग हो । खेलकुदले देशलाई चिनाउन सक्छ भन्ने मानसिकता हुनुपर्छ । आज टोकियो ओलम्पिक हुँदा ब्रान्डिङ त जापान र टोकियोको मात्र भयो नि । त्यहाँ कसैले सामसुङ, एलजी र टोयोटा भन्ने त थिएन नि । 

आज कतार संसारको सबैभन्दा धनी देश भएपछि खेलकुदको कार्यक्रम गर्न खोज्यो र फिफा विश्वकप गर्दै छ । उसले आफ्नो शक्ति र समृद्धि देखाउन गरेको हो । कतार विश्वको उत्कृष्ट टिम त होइन । हामीले पनि खेलकुदमार्फत देशलाई विश्वमा चिनाउन सक्छौं ।

त्यसैले सरकारले खेलकुद भनेको दान दिने होइन कि लगानी गर्ने क्षेत्र हो भनेर मानसिकता परिवर्तन गर्नुपर्छ । हाम्रो काठमाडौंको मौसमले १० महिना खेल गराउन सकिन्छ । वर्षातमा दुई महिनामात्र नहुने हो । 

हाम्रो वैदेशिक सम्बन्ध सबैसँग राम्रो छ । सबै नेपाल आउन इच्छुक छन् । नेपाल सरकारको कर नीति पनि मित्रवत् छ । भारतको भन्दा हाम्रो राम्रो छ । विश्वकपमा जहिले पनि बिसिसिआई र आइसिसीबीच झगडा हुने भनेकै करको विषयमा हो । हाम्रो कर नीति सर्वोत्कृष्ट नहोला तर नराम्रो पनि छैन । हरेक हिसाबमा हामी सक्षम छौं । 

क्यान र सरोकारवालासँग तपाईंको सम्बन्ध उतारचढावपूर्ण हुने गरेको छ । अहिले क्यान र खेलाडीहरूसँग कस्तो सम्बन्ध छ त ?

ठिक छ । मान्छेले के बुझ्नुपर्छ भने म पनि पूर्व क्रिकेटर हो । क्रिकेटको भ्यालुको आधारमा मेरो पनि आफ्नो धारणा हुन सक्छ । दोस्रो भनेको म क्रिकेटको व्यावसायी पनि हो । तेस्रो हामीले पनि प्रशासनको कुरा बुझ्छौं । कहीं कमी कमजोरी लाग्यो भने आवाज उठाउनुपर्छ भन्ने लाग्छ । यो सबै रोल हेर्दा कहीं भिलेन हुन्छ कहीं हिरो हुन्छ । तर यो कसैलाई खुसी पार्न वा दुखी बनाउनभन्दा पनि सिस्टम बसाउनमात्र मैले बोल्ने हो । यो म बोलिरहेको हुन्छु । 

निश्चित कुरामा, एउटा सिस्टम, एउटा लेभलमा, अनुशासन र कानुनी कुरामा जहिले पनि सही हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले क्यानसँग जहिले पनि लभ एन्ड हेट रिलेसन हुन्छ वा कुनै खेलाडी विशेषको हुन सक्छ होला । तर यो कुनै मैले नराम्रो कुरा बोलेको होइन । तर सत्य बोल्दा कहिलेकाहिँ कुनै कुनै मानिसलाई बानी नहुँदा अप्ठेरो लाग्छ । तर, मैले नाजायज कुरा गरेको हुँदैन । 

क्रिकेट समर्थक वा अरू कसैलाई केही भन्नु छ ?

इपिएलले अहिले पुनरागमन गरेको छ । यो सबैका लागि राम्रो अवसर हो । यो चाडबाडको समय हो । दसैंको बेला छ । यही बेला हामीले इपिएललाई फिर्ता ल्याएका छौं । इपिएलको माध्यमबाट दसंै पहिला नै आयो भन्ने हामी भन्छौं । 

त्यसैले हामीले इपिएलको नयाँ लोगो दसैंको माहोलजस्तै रंगीविरंगी बनायौं । र, यो समय काठमाडौंको मौसम एकदम राम्रो हुन्छ । मान्छेलाई चिसो पनि लाग्दैन, गर्मी त हुँदै हुँदैन । हिमाल खुला देखिन्छ । त्यसैले प्रशारणमा जाँदा हिमाल देख्दा रमाइलो हुन्छ । विश्वभरका मानिसले यहाँको राम्रो मौसम र प्राकृतिक सुन्दरताको मज्जा लिन पाउँछन् । यसले नेपालको पर्यटनलाई पनि फाइदा हुन्छ । 

इपिएल र इपिएलको मिति जुध्दा केही धक्का लागेको छ । तर कहीं न कहीं हामीले सम्झौता गर्नुपर्छ । तर यो चाहिँ हाम्रा लागि, सबैका लागि देशकै लागि विनिङ फर्मुला हो । देशको पर्यटन अहिले एकदमै तल ओर्लिएको छ । लोएस्ट फेजमा छ । यसले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गर्न सक्छ । 

हामीले विदेशी खेलाडीहरूलाई क्रिकेट होलिडेको प्याकेज दिन्छौं । क्रिकेट पनि खेलोस् र माउन्टेन फ्लाइट पनि चढोस् । 

खेलाडी मेघौली जाँदा ताज मेघौलीमा बस्छ । ताजले व्यापार गर्ला । त्यो मलाई मतलब भएन । तर मेघौलीको फोटो, जिप, ह्यासट्याग भयो भने सिंगो नेपालको ब्रान्डिङ भयो नि त ।

क्रिकेटबाहेक अर्कै खेलको एकजना विश्वको एकदमै लोकप्रिय खेलाडीको यहाँ आएर चितवन मेघौलीमा जिप ड्राइभमा जाने विस छ । मैले उनलाई हुन्छ मिलाइदिन्छु, तर तिमी त्यहाँ गएको जिप सफारीवाला लुगा लगाएको, बाइनाकुलर बोकेको, कालो चश्मा लगाएको एउटा इन्स्टाग्राम पोस्ट गर्नुपर्छ भनेको छु । उसले हुन्छ भनेको छ । त्यसो हुँदा कसलाई फाइदा हुन्छ ? मलाई फाइदा हुन्छ ? 

यसले त नेपालीलाई फाइदा हुन्छ नि । आज सात श्रीलंकन खेलाडीले हाम्रो इपिएलमा खेलिरहेको छ । रणनीतिक रूपमा तीनजना भैरहवाको टिममा छ । उनीहरू हरेकले नेपाल आएपछि लुम्बिनी जान पाउँछु त भन्छन् । उनीहरू बुद्ध, बुद्ध भनिरहेका हुन्छन् । हामी हुन्छ प्लिज भन्छौं । 

हामीले कही न कहीं कनेक्ट गरिरहेका हुन्छौं । 

साहिद अफ्रिदीलाई ल्याउने कारण पनि काठमाडौंमा भएको समर्थकको फलोइङ भएर हो । श्रीलंकाली क्रिकेटर भैरहवा र गोरालाई पोखरा राखेको हो । यस्तो काम गर्नका लागि पनि हामीले धेरै कडा मिहिनेत र धेरै सोचेका छौं । खेलाडी, हामी, नेपाली क्रिकेट र पूरा देश फाइदामा हुनुपर्छ भन्ने हो ।

त्यो खेलाडी मेघौली जाँदा ताज मेघौलीमा बस्छ । ताजले व्यापार गर्ला । त्यो मलाई मतलब भएन । तर मेघौलीको फोटो, जिप, ह्यासट्याग भयो भने सिंगो नेपालको ब्रान्डिङ भयो नि त ।