बिर्तामोड । संकटा क्लबलाई २-० ले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार शिवसताक्षीस्थित दुशे रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा खेलमा पुलिसलाई जित दिलाउन स्ट्राइकरद्धय मीना देउवा र रेखा पौडेलले गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
दोस्रो गोल गरेकी रेखा ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
पुलिसले अब कार्तिक २४ गते, सोमबार हुने फाइनलमा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । शनिबार दोस्रो सेमिफाइनलमा एपिएफ र आर्मी विभागीय डर्बीमा भिड्दैछन् । खेल दिउँसो ३ः१५ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
