काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा विजयी स्पोर्टस क्लब र चित्लाङ फुटबल क्लबले १–१ को बरबारी खेल्दै अंक बाँडेका छन् ।
शुक्रबार प्रतियोगिताको तेस्रो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा विजयी स्पोर्टसले अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।
विजयी स्पोर्टसले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । विजयी स्पोर्टसका लागि आरोन थापाले पेनाल्टीलाई सदुपयोग गरेका थिए । चित्लाङका लागि खेलको ७२औं मिनेटमा विज्ञान खड्काले बराबरी गोल फर्काए ।
प्रतियोगितामा विजयी स्पोर्टसका लगातार दोस्रो बराबरी हो । विजयी स्पोर्टसले यसअघि लालीगुँरास एसोसिएसन क्लबसँग गोलरहित बराबरी खेलेको थियो । चित्लाङले भने यसअघि देउराली युथ क्लबलाई ४-१ ले पराजित गरेको थियो ।
दिनको पहिलो खेलमा देउरालीले जन जागृति युथ क्लबमाथि ३-१ को पुनरागमन जित हासिल गरेको थियो ।
प्रतियोगिताको चौथो दिन शनिबार समूह ‘बी’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा काँक्रे बिहार युथ क्लबले नव जागृति क्लबसँग खेल्नेछ । दोस्रो खेलमा टाइगर्स टिमले हैरान्स क्लबको सामना गर्नेछ । यो खेल दिउँसो ३ः१५ बजे हुनेछ ।
प्रतियोगिताका सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ । दुबै टोलीबाट शीर्ष दुई टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन् ।
