काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी कमल थापाले लामो समयदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग तुरुन्तै सञ्चालन गर्न एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई ध्यानाकर्षण गरेका छन् ।
शुक्रबार समाजिक सञ्जालमा लिग हुन नसकेको यथार्थमा दुःख व्यक्त गर्दै थापाले राखेप र एन्फालाई अविलम्ब लिग सञ्चालन गर्न ध्यानाकर्षण गरेका हुन् ।
‘फुटबलको पूव खेलाडी र एन्फाको पूर्व अध्यक्ष भएको नाताले अहिले फुटबल खेल क्षेत्रमा भइरहेको विवाद तथा लामो समयदेखि ‘सहिद स्मारक लिग’ हुन नसकेको देख्दा अत्यन्तै दुःख लागेको छ,’ पूर्व उप–प्रधानमन्त्री समेत रहेका थापा लेख्छन्, ‘खेलाडी विदेश पलायन हुने प्रवृत्ति बढिरहेको छ । लिग अविलमब सञ्चालन गर्ने बारे राखेप र एन्फाको ध्यान जाओस् ।’
पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्रको आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन । सोमबार बसेको एन्फा र १४ शीर्ष डिभिजन क्लबबीचको बैठकबाट यो वर्ष पनि लिग नहुने सहमती भएको छ । जसका कारण खेलाडी र फुटबल समर्थकमा आक्रोश बढेको छ ।
