काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाई भित्र्याएको छ ।
यससँगै काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पुरा गरेको छ ।
काठमाडौंले यसअघि नै विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार तथा इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र विकेटकिपर/ब्याटर जोहन सिम्पसनलाई अनुबन्धन गरिसकेको थियो ।
पटेल नेपाली फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले ललितपुर प्याट्रियोसबाट एभरेस्ट प्रिमियर लिग (इपिएल), सिवाइसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डिपीएल) र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग (पिपीएल) को उपाधि जितेका छन् ।
रणजी ट्रफीमा गुजरातको प्रतिनिधित्व गरिसकेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।
अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा उनले १० खेलमा १६ विकेट लिएका थिए ।
च्याम्पियन एटलान्टाका प्रशिक्षक मोन्टी देसाई नै अहिले काठमाडौंको प्रशिक्षण जिम्मेवारीमा छन् ।
‘सन्नी एटलान्टा फायरको एक महत्वपूर्ण हिस्सा थिए । मैले उनको खेल प्रत्यक्ष हेर्दै आएको छु, उनले आफ्नो खेलमा उत्साह, संयमता र परिपक्वता ल्याएका छन्,’ मोन्टीले भने, ‘सन्नी बल र ब्याट दुवैमा उच्च योगदान दिन सक्छन् । गोर्खाज परिवारमा उनलाई समावेश गर्न पाउँदा हामी उत्साहित छौं । सन्नीको आगामनले हाम्रो टोलीको सन्तुलनलाई बलियो बनाउने छ ।’
सन्नीले जुन जुलाईमा भएको अमेरिकाको मेजर लिगमा एमआई न्यु योर्कको प्रतिनिधित्व गरेका थिए ।
काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
