कार्तिक २२, २०८२ शनिबार | ०२:०९:२९
‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण
शनिबारको दिन

महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा

काठमाडौं । भारतले आफ्ना समर्थकको अपेक्षालाई पूर्ण बनाउँदै महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्यो । महिला विश्वकप क्रिकेट इतिहासमा यो भारतीय महिला टिमले जितेको पहिलो उपाधि थियो । ५२ वर्षमा भारत पहिलो पटक च्याम्पियन भएको हो ।

मुम्बईको डीवाई पाटिल रंगशालामा उठेको गर्जनले सबै कुरा भनिदियो, बलियो प्रतिज्ञाले पक्कै इतिहास कोर्ने छ ।

भारतका निम्ति यो दृढताको यात्रा थियो । समूह चरणमा लगातार तीन हार । तर, पनि नकआउट चरणमा भारतको पुनरागमन नाटकीय र निर्णायक दुवै रह्यो ।

भारतजस्तो क्रिकेटप्रेमी राष्ट्रका लागि, जसले आफ्ना महिलाहरूलाई पुरुषहरूको सफलतामा काँधमा काँध मिलाउन वर्षौंदेखि पर्खिरहेको थियो, यो जित युगान्तकारी थियो । नयाँ युगको सुरुआत झल्काउने आगोको झिल्काजस्तै । पहिलो पटक विश्वकपको उपाधि जित्दा कस्तो थियो भारतको यात्रा ? यहाँ प्रतियोगिताका मुख्य पाँच आधारहरू उल्लेख गरिएको छ:

फाइनलमा सफालीलाई बलिङ दिने कप्तानी निर्णय

दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा उपाधि जित्दा भारतबाट सफाली निर्णायक बनिन् । सफाली बर्मा, जसले ७८ बलमा ८७ रन बनाउनुका साथै दुई महत्त्वपूर्ण विकेट लिइन् । यही प्रदर्शनले उनलाई फाइनलको ‘प्लेयर अफ द म्याच’ समेत बनायो ।

फाइनलमा ७ ओभर बलिङ गरेकी सफालीलाई कप्तानले बलिङ दिनु सबैलाई अचम्ममा पार्ने निर्णय थियो । नियमित ओपनर प्रतिका रावल घाइते हुँदा अवसर पाएकी सफाली पार्टटाइम स्पिनर हुन् ।

तर, उनले दोस्रो बलमै सुन लुस र सातौं बलमै म्यारिजिन केपलाई आउट गरिदिइन् । जसले दक्षिण अफ्रिकाको लक्ष्य पछ्याउने गतिलाई निस्तेज पार्न ठूलो भूमिका खेल्यो ।

खेलपछि कप्तान हरमनप्रित कौरले भनिन्, ‘यो उसको दिन हो भन्ने मलाई महसुस भयो ।'

अमनजोतको अद्भूत क्याच

दक्षिण अफ्रिकाकी कप्तान तथा ओपनर लाेरा उल्भडर्ट यस प्रतियोगिताको उच्च रन बनाउने खेलाडी थिइन् । जसले सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध शतकीय इनिङ्ससमेत खेलेकी थिइन् ।

फाइनलमा पनि उनले भारतविरुद्ध उस्तै लय देखाइन् । भारतको विश्वकप यात्राअघि डर बनेर उभिएकी उनले फाइनलमा पनि शतकीय इनिङ्स खेलिन् ।

दक्षिण अफ्रिकालाई जितका निम्ति ७८ रन आवश्यक हुँदा उनले दिप्ती शर्माको बलमा लामो शट खेलिन् । अमनजोत कौर पन्जाबको सानो सहर हुँदै भारतीय टिमसम्म आएकी उनी अगाडि दौडिइन् । तीन पटक बल समात्न संघर्ष गरिन् र अन्ततः लड्दै समातिन् पनि । यो क्याचले रंगशाला गर्जियो, सम्भवतः पुरै भारत गर्जियो ।

उल्भडर्ट भारत र जितबीचको अन्तिम अवरोध थिइन् । तर, अमनजोतले धैर्य र साहस दुवै देखाइन् । र, भारतको जितको बाटो खोलिन् ।

जेमिमाहको सानदार शतक

सेमिफाइनलमा जेमिमाह रोड्रिग्वेजप्रेरित भारतले महिला क्रिकेटमै उत्कृष्ट लक्ष्य पछ्यायो । अस्ट्रेलियाविरुद्ध उनको अविजित १२७ रनले नै भारतको फाइनल यात्रा खुलेको थियो ।

ब्याटिङ नम्बर ३ मा आएकी उनले आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट इनिङ्स खेलिन् । त्यो पनि त्यस्तो टिमविरुद्ध जसले दशकौंदेखि भारतीय महिला क्रिकेटको सपना तोड्दै आएको थियो ।

स्मृति मन्धनालगायत दुई शीर्षक्रमको विकेट गुमाएपछि जेमिमाहले संयम र बुद्धिमत्तापूर्ण ब्याटिङ गर्दै भारतको इनिङ्सलाई स्थिर पारिन् । कप्तान हरमनप्रितसँगको १६७ रनको साझेदारीले भारतको कीर्तिमानी लक्ष्य पछ्याउने क्रमको जगलाई बलियो बनायो ।

उनको शतकीय इनिङ्सप्रेरित भारतले ३३८ रनको लक्ष्य ५ बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो ।

कप्तान कौर: संयमित, चतुर र नियन्त्रणशाली

फाइनलपछि ट्रफी समात्दा कप्तान हरमनप्रित कौरको अनुहारमा देखिएको राहत र गर्वको चमक गजबको थियो ।

उत्कृष्ट लयमा नभए पनि नेतृत्वमा उनले कमाल देखाइन् । संयम, रणनीतिक र निडरताले उनले टोलीलाई दबाबबीच एकजुट राखिन् । तीन लगातार हारपछि उनले टोलीलाई पुनर्संयोजन गरिन् । जसमा केही जोखिमपूर्ण तर प्रेरणादायी निर्णयहरू पनि समावेश रहेको थियो । जेमिमाहलाई पुनः टोलीमा ल्याउने र नम्बर ३ मा पठाउने उनको निर्णय निर्णायक साबित भयो ।

फाइनलमा सफालीलाई बलिङ गराउने जोखिमपूर्ण थियो । तर, पनि यो निर्णय सफल रह्यो । सेमिफाइनल र फाइनल दुवैमा उनको स्थिर नेतृत्व भारतको मेरुदण्ड बन्यो ।

दिप्ती शर्माका अद्वितीय प्रदर्शन

दिप्ती शर्माले प्रतियोगिताकै सर्वाधिक विकेट–लिने खेलाडी बन्ने सफलता हात पारिन् । तर, यही कुराले मात्रै उनको प्रदर्शनलाई न्याय गर्दैन । नकआउट चरणमा उनले जोडेका रन महत्त्वपूर्ण बन्यो ।

अस्ट्रेलियाविरुद्ध उनले बल र ब्याट दुवैमा निर्णायक योगदान दिइन् । अस्ट्रेलियाविरुद्ध उनले पहिलो पटक अन्तिम ओभरमा दोहोरो विकेट लिएर १५-२० रन बचाइन् । अनि आक्रामक २४ रन जोड्दै लक्ष्य पछ्याएको भारतमा ऊर्जा भरिन् । फाइनलमा उनले झन् उत्कृष्ट प्रदर्शन गरिन् । ब्याटिङमा उनले ५८ बलमा ५८ रन र त्यसपछि बलिङमा ५ विकेट लिएर दक्षिण अफ्रिकाको ब्याटिङ ध्वस्त पारिन् ।

यो महिला र पुरुष दुवै विश्वकप इतिहासकै उत्कृष्ट प्रदर्शनहरूमध्ये एक रह्यो । अनि भारतीय जितको आधार ।