एसियन एमेच्योर चेस च्याम्पियनसिप

थापाको अपराजित यात्रा कायमै

काठमाडौं । नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एसियन एमेच्योर चेस  च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । 

पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफु लयमा रहेको प्रमाणित गरिरहेका छन् । साविक विजेता समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आईतबार राती सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताकादोस्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गरे ।

च्याम्पियनसिप अन्तर्गत सोमबार हुने छैटौं चरणको खेलमा थापाले दोस्रो बोर्डमा इरानका महमुदी एम सदेगसँग प्रतिष्पर्धा गर्नेछन् । पाँच चरण पश्चात इरानी खेलाडीद्धय फुलाडी बेहरुज र जमती सोभन समान पाँच पाँच अंकका साथ शीर्ष स्थानमा रहेका छन् भने इरानकै महमुदी, पाकिस्तानका जुनाईद सोहिल र नेपालका कृष्ण थापा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोस्रो स्थानमा रहेका छन् । 

थापाले  नवौं चरणसम्म संचालन हुने  च्याम्पियनसिपका बाँकी ४ खेलमा समेत अनुकुल नतिजा निकालेर नेपाल र नेपालीलाई दशैंको उपहार दिन आतुर रहेको बताए । २० एशियाली देशका एक सय ४६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनशीप बुधबारसम्म संचालन हुनेछ ।