उमा कुङफु

पदक विजेता उमा कुङफु खेलाडी सम्मानित

काठमाडौं । नेपाल उमा कुङफु संघले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए ।

सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा पहिलो स्थान हात पारे । सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका नेपाल उमा कुङफु संघका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित भए ।

यसै कार्यक्रममा स्थानिय निर्वाचन २०७९ मा तार्केश्वर नगरपालिको मेयरमा निर्वाचित भएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन, नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, पूर्व अध्यक्ष उद्धव थापा मगर, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । भूपेन्द भने हाल इङल्यान्डमै रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।