काठमाडौं । सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन प्रो गल्फर शुक्रबहादुरले राईले एकल अग्रता लिएका छन् ।
समग्रमा ६-अन्डर १३० को स्कोरमा शुक्रले दिनेश प्रजापतीलाई एक स्ट्रोकले पछि पारेका छन् । बुधबार शुक्रले १-ओभर ६९ को स्कोर गरे ।
पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज भने सो लयलाई निरन्तरता दिन सकेनन् । पहिलो होलको बर्डीकाविरुद्ध नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे ।ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे ।
समग्रमा ५-अन्डर १३१ को स्कोरमा दिनेश दोस्रो स्थानमा छन् । आज उनले १-अन्डर ६७ को कार्ड बनाए ।
दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौं होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३४ खेले। यसपछि १०औं र १३औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।
रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवनकुमार रोक्का समग्रमा ३-अन्डर १३ को स्कोरसहित तेस्रो स्थानमा छन् । रामेले १-अन्डर ६७ को स्कोर दर्ज गरे। खराब प्रदर्शन गरेका भुवनले ४-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए ।
समग्रमा १-अन्डर १३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीपकुमार लामा पाँचौं स्थानमा छन् । सञ्जयले २-अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन-पार ६८ को स्कोर बनाए ।
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १ सय ३७ को स्कोरमा शीर्ष स्थानमा छन् । उनले आज १-ओभर ६९ को स्कोर जोड्दै निश्चयजंग राययमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । निश्चयले आज १-ओभर ६९ स्कोर गर्दे समग्रमा २-ओभर १३८ स्कोर तयार पारे ।
३६ होलको समाप्तिमा ९-ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र दुई एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् ।