काठमाडौं । फरवार्ड आशिष थारु चम्कँदा च्यासल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा झापा एफसीलाई २-० ले हराएको छ ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा च्यासललाई जित दिलाउन दुवै गोल आशिषले गरे । यो जितसँगै च्यासलले १३ खेलमा १८ अंक जोड्दै लिगको अन्त्य गरेको छ । यो हार झापाका लागि नमिठो रह्यो । च्यासललाई हराएको भए झापाले तेस्रो स्थानमा आफ्नो चुनौती प्रस्तुत गर्न सक्थ्यो । यो नतिजासँगै झापा १८ अंकमा सिमित बन्यो । गोल भिन्नताका आधारमा भने झापा च्यासलभन्दा दुई गोलले अगाडि छ ।
खेलको ३८औं मिनेटमा आशिषको ‘टाइट एंगल’ गोलमार्फत च्यासलले अग्रता लिएको थियो । मिडफिल्डर अनिल बोम्जन लामाले पेनाल्टी बक्स भित्रबाट गरेको लोअर प्रहार विपक्षी गोलकिपर रोशन गुरुङले बचाएका थिए । प्राप्त रिबाउन्ड बललाई आशिषले सदुपयोग गरे । उनको लेफ्ट फुटेड प्रहारले गोल पोस्टको जाली चुमेको थियो ।
खेलको ७५औं मिनेटमा अनिलकै कट्ब्याकमा आशिषले अग्रतालाई दोब्बर बनाए । राइट साइडबाट अनिलले दिएको कट्ब्याकलाई बक्स भित्र कुनै पनि निगरानीमा नरहेका आशिषले लोअर भली प्रहार गर्दै सहज गोल गरे ।
दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले पुछारको नयाँबस्ती युवा क्लबविरुद्ध ४(० को सानदार जित हासिल गर्यो । जितसँगै मध्यपुर १८ अंक जोड्दै हालका लागि छैटौं स्थानमा छ । यसअघि नै दोस्रो डिभिजनको हैसियत गुमाइसकेको नयाँबस्तीले भने मात्र पाँच अंकका साथ लिगको अन्त्य गर्यो ।
लिगमा नयाँबस्तीसँगै श्री टुसाल युवा क्लब रेलिगेसनमा परिसकेको छ । त्यस्तै शीर्ष डिभिजनमा बढुवा हुने दुई टोलीको पनि टुंगो लागिसकेको छ । च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड र दोस्रो स्थानको श्री भगवती क्लबले यही पुस महिनामा हुने भनिएको ‘ए’ डिभिजन लिग खेल्ने पक्का भइसकेको छ ।
लिगमा बिहीबार दुई खेल हुनेछन् । दिउँसो १२ः४५ बजे हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लब भिड्नेछन् । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र वीरगंज युनाइटेड आमने–सामने हुनेछन् । यो खेल दिउँसो ३ः४५ बजे हुनेछ । दुवै खेल एन्फा मुख्यालय मैदानमा हुनेछन् ।