रासफोर्ड

रासफोर्ड युनाइटेडमै बस्नेमा टेन हाग आशावादी

लन्डन । मार्कुस रासफोर्ड म्यानचेस्टर युनाइटेडमै बस्नेमा मुख्य प्रशिक्षक एरिक टेन हाग आशावादी देखिएका छन् । लामो समयदेखि रासफोर्डप्रति चासो देखाइरहेका पेरिस सेन्ट जर्मन (पिएसजी)का अधिकारीसँग रासफोर्डका प्रतिनिधिले भेटेको चर्चा चलिहरेको छ ।

तर, डच प्रशिक्षक टेन हाग २४ वर्षीय इङ्लिस फरवार्ड रासफोर्डलाई युनाइटेडमै राख्न चाहन्छन् ।

‘म माया गर्छु भन्ने उनलाई थाहा छ, र म उनी यहीँ बसुन् भन्ने चाहन्छु भन्ने पनि उनलाई थाहा छ,’ टेन हागले भनेका छन्, ‘पहिलो दिन देखि नै म उनीसँग खुशी छु ।’

‘उनी निश्चिय नै हाम्रो आगामी योजनामा छन्,’ हागले थपे ।

काँधको समस्याका कारण गत सिजनको सुरुआती चरण गुमाएका रासफोर्ड प्रभावशाली पुनरागमन गर्न संघर्षरत रहे । २५ खेलमा चार गोल मात्रै गरेका रासफोर्डले इङ्लिस राष्ट्रिय टिममा पनि आफ्नो स्थान गुमाएका थिए ।