इङ्लिस प्रिमियर लिग

ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षकः क्लोप

लन्डन । इङ्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् ।

जर्मन बुन्डेसलिगामा दुई सिजन लिग उपाधिका लागि चर्को प्रतिस्पर्धा गरेको क्लोप र ग्वार्डिओला प्रिमियर लिगमा छैटौं वर्ष प्रतिद्वन्दीको रुपमा उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । बुन्डेसलिगामा ग्वार्डिओलाले बायर्न म्युनिख र क्लोपले बोरुसिया डर्टमन्डको प्रशिक्षण सम्हालेका थिए ।

प्रिमियर लिग उपाधि दौडमा चर्को प्रतिस्पर्धा गरिरहेका यी दुई क्लब आइतबार प्रतिस्पर्धा गर्दैछन् । लिगको दोस्रो स्थानमा रहेको लिभरपुल र शीर्ष स्थानको सिटीबीचको अंक दुरी एक अंक मात्र छ । जसले यो खेल दुबै टोलीका लागि गर या मरको भएको स्पष्ट छ ।

‘सायद ग्वार्डिओलाले बायर्न म्युनिखको प्रशिक्षण नसम्हालेको भए डर्टमन्डबाट हामीले अझ धेरै उपाधि जित्न सक्थ्यौं,’ क्लोपले भने, ‘अहिले पनि अवस्था उस्तै छ । यदी ग्वार्डिओला प्रिमियर लिगमा हुँदैनथे भने हामीसँग कम्तिमा प्रिमियर लिगको उपाधि बढी हुन्थ्यो । मेरो लागि ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् ।’