काठमाडौं । नियमित कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालगायत केही मुख्य खेलाडीलाई आराम दिइएको एएफसी महिला एसियन कप छनोटअन्तर्गत आज हुन लागेको लाओसविरुद्धको खेलमा सावित्रा भण्डारीलाई नेतृत्वको जिम्मेवारी दिइएको छ
यसअघि अखिल नेपाल फुटबल संघले पूर्वकप्तान रेणुका नगरकोटेलाई नेतृत्वमा फर्काइएको बताएको थियो ।
कप्तानका रुपमा गोलमसिन सावित्राले आर्म ब्याण्ड पाउँदा अञ्जिलाको अनुपस्थितीमा पोष्ट सुरक्षाको जिम्मेवारी भने अञ्जना राना मगरले पाएकी छिन् ।
यसैगरी प्रशिक्षक प्याट्रिक डी वाइल्डले रक्षापंक्तिमा गीता रानामगरसँगै निशा थोकर र समिक्षा घिमिरेलाई पहिलो रोजाईमा उतार्ने भएका छन् ।
३–२–३–२ शैलीमा चयन गरिएको टिमको डिफेन्सिभ मिडफिल्डमा सरु लिम्बु र सरस्वती हमालले मौका पाएका छन् । मिडफिल्डको अघिल्लो भागमा रहेर रेणुकाले मध्यभाग सम्हाल्दा सविता रानामगरले वायाँ तथा अनिता बस्नेतले दायाँ विंग्सबाट नेपाली टिमको खेल बुन्नेछन् । प्रिती राईलाई भने आराम दिइएको छ ।
त्यस्तै आक्रमणको जिम्मा गोलमसिन सावित्रा भण्डारीसँगै रस्मीकुमारी घिसिङको काँधमा दिइएको छ ।
खेल उज्वेकिस्तानको तास्केन्दमा नेपाली समयअनुसार अहिले ६ः१५ मा हुनेछ । नेपालले आज पहिलो खेलमा लाओसको सामना गर्नेछ भने दोस्रो खेलमा बुधबार श्रीलंका तथा अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहबाट शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा सहभागिताको मौका पाउनेछ । नेपाल छनोट भएर पहिलो पटक एसियन कप खेल्ने इतिहास रच्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको हो ।
(अपडेट गरिएको समाचार)