काठमाडौं। धुलिखेल-१२ बृकल्यान्डस्थित डिभिनियन्स एलिट फुटबल एकेडेमी (डिइएफए) को उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री कार्यलयका सचिव गोविन्दबहादुर कार्की, नेपाली सेनाका उपरथी चोक हादुर ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठलगायतले एकेडमीको उद्घाटन गरे ।
नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय जर्जप्रिन्स कार्की र जिलेस्पीजंग कार्की संचालक रहेको डिभाइन लाइट एकेडेमीमा माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । स्कुलले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको स्कुलका अध्यक्ष गोपालबहादुर कार्कीले बताए ।
उनले एकेडेमीबाट आफ्ना दुई छोरा जस्तै खेलाडी उत्पादन गर्ने योजना सुनाए । ‘मेरा दुवै छोराले पनौतीको खेतबारीमा खेलेर अन्तर्राष्ट्रिय सहभागिता जनाउदै देशको शिर उचो बनाएका छन् । अब एकेडेमीले यस्तै खेलाडी उत्पादन गर्नेछ,’ उनले भने ।
एकेडेमी उद्घाटनसँगैकरिब १३ आना जग्गामा निर्मित सेभेन ‘ए’ साइट फुटसल संचालनमा आएको छ । एकेडेमीमा खेलाडीले बिहान तथा साझ दैनिकी प्रशिक्षण गर्नेछन् ।
उद्घाटन क्रममा नेपाल राष्ट्रिय टिम र पूर्व खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय टिमबाट मनिष डांगी, रोहन कार्की, एरिक विष्ट, मणिकुमार लामा, अनन्त तामाङ, जिलेस्पी र लाकेन लिम्बु, सुमन श्रेष्ठ, अञ्जल श्रेष्ठलगायतले खेलेका थिए । यस्तै पूर्व खेलाडीको टिममा विराज महर्जन, विकेश कुथु, विक्रम लामा, राजेन्द्र तामाङ, जर्जप्रिन्स, नवयुग श्रेष्ठ, निराजन धामीलगायतका खेलाडी थिए । यो खेल ९-९ को बराबरीमा सकिएको थियो ।
यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले डिभिनियन्स एलिट फुटबल एकेडेमीलाई ६-३ तथा त्रिभुवन आर्मी क्लबको भेट्रान्स टिमले काभ्रे जिल्ला फुटबल संघलाई ७-५ ले हराए ।