काठमाडौं । कप्तान लियोनल मेसी र लुइस स्वारेजको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा बिहीबार मोन्ट्रियललाई ४-२ ले पराजित गरेको छ ।
मियामीले चार खेलपछि जित निलेको हो । पछिल्ला चार खेलमा टोलीले समान दुई हार र बारबरीको नतिजा निकालेको थियो ।
जितसँगै १५ खेलमा २६ अंक जोडेको मियामी इस्टर्न कन्फ्रेरेन्सको छैटौं स्थानमा छ । पराजित मोन्ट्रियल १६ खेलबाट आठ अंकका साथ पुछारमा छ ।
चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन मेसी र स्वारेजले सामा दुई गोल गरे । मोन्ट्रियलका लागि डान्टे सिली र भिक्टर लोटुरीले गोल गरे ।
खेलको २७औं मिनेटमा मेसीको गोलमार्फत मियामीले अग्रता लिएको थियो । स्वारेजले ६८ र ७१औं मिनेटमा गोल गर्दै मियामीलाई ३-० ले अगाडि बढाए ।
सिलीले ७४औं मिनेटमा मोन्ट्रियलका लागि एक गोल फर्काए । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा मेसीले व्यक्तिगत दोस्रो तथा मियामीका लागि चौथो गोल गरे ।
इन्जुरी समयमा लोटुरीले गोल गरेपछि खेल ४-२ को स्थितीमा सकियो ।