काठमाडौं । तीन वर्ष लगाएर सहिद स्मारक लिगको साइकल पूरा गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई वर्ष अगाडी सम्पन्न शीर्ष डिभिजनको लिगबाट एपिएफलाई ‘बी’ डिभिजनमा झार्ने संकेत गरेको छ ।
आगामी असार १५ बाट हुने भनिएको शीर्ष डिभिजनका क्लबले सहभागिता जनाउने एन्फा यु-१६ लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि छलफल गर्न भन्दै एन्फाले बुधबार बोलाएका १४ क्लबको सूचिमा एपिएफ र खुमलटारको नाम छैन । जवकि गतसाता मात्र सम्पन्न ‘बी’ डिभिजन लिगबाट उक्लिएका प्लानिङ ब्वाइज र श्री भगवती क्लबलाई चाँही एन्फाले शुक्रबारको लागी तय बैठकमा बोलाएको छ ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगै दुई वर्ष अगाडी सकिएको लिगमा खुमलटार युथ क्लब पनि रेलिगेसनमा परेको थियो । तर रेलिगेसनबाट बाच्न संघर्ष गरेको अर्को टिम थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावलीविपरित भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै एन्फामा उजुरी गरेको थियो । खुमलटार र एपिएफलाई नबोलाइएको शीर्ष डिभिजन क्लबहरूको उक्त बैठकमा अर्को विवादित टोली थ्री स्टारलाई भने निमन्त्रणा पठाइएको छ ।
अवैधानिक खेलाडीलाई मैदान उतारेपछि थ्री स्टार स्वत उक्त खेलमा ३-० को नझिजामा पराजित हुने एपिएफको जिकिर थियो । जावलाखेलविरुद्धको खेलमा थ्री स्टार १-० को नतिजामा विजयी भएको थियो । सोही तीन अंकको आधारमा एपिएफलाई पछि पार्दै थ्री स्टार रेलिगेसन क्षेत्रबाट माथि उठेको थियो ।

एन्फाको अनुशासन कमिटीले एपिएफको उजुरीमाथि सुनुवाई गर्ने क्रममा थ्री स्टारको गल्ती देखाउँदै खेलाडी तथा क्लबलाई नगद जरिवाना गरेको थियो । तर फिफाको कोड अफ कन्डक्ट र लिगको नियमावलीअनुसार अवैधानिक खेलाडी खेलाएपछि सम्बन्धित टिम स्वत ३-० ले हार्ने उल्लेख छ ।
अनुशासन कमिटीको निर्णयमा असहमति जनाउँदै एपिएफ र थ्री स्टार दुवै टोलीले अपिल कमिटीमा निवेदन गरेका थिए । अपिल कमिटीले दुई वर्ष बितिसक्दा पनि निर्णय गरेको छैन ।
जवकि कमिटीले यही जेठ ९ गते सम्पन्न बी डिभिजन लिगमा सरस्वति क्लबका खेलाडी धिरेन्द्र शाहको विषयमा भने तत्काल बैठक बसेर निर्णय दिएको थियो ।
एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडी डटकमसँग कुरा गर्दै आधिकारिक रूपमा एपिएफ र थ्री स्टारको विषयमा अपिल कमिटीले निर्णय नदिएसम्मका लागि एपिएफलाई पनि खुमलटारजस्तै घटुवा भएकै मान्ने बताए ।

‘अपिल कमिटीको निर्णय आएको छैन । हाम्रो लिगको साइकल पूरा भइसक्यो । यसकारण फुटबल आफ्नो नियमअनुसार स्वचालित ढंगमा चल्छ । अंकतालिकाको अवस्थाअनुसार हामीले काम गर्नुपर्छ । अपिल कमिटीको निर्णय अन्यथा आयो भने त्यहीअनुसार हुन्छ,’ शाहले भने ।
अघिल्ला वर्षहरूमा लिगको साइकल पूरा गर्न नसकेकोले एपिएफ र खुमलटारलाई पनि शीर्ष डिभिजनको हैसियत दिइएको उनको भनाई थियो ।
एकै पटक रेलिगेसनको निर्णय सुनाउँदा आउने प्रतिकृया अप्रिय हुन सक्ने आँकलन गरेर रिहल्सल स्वरुप यो पत्रमा एपिएफलाई समावेश नगरिएको एन्फाका अर्का एक पदाधिकारीकाे धराणा छ ।
अपिल कमिटीले चाँही नेपाली फुटबलमा निक्कै जटिल बनाइएको यो विषयमा दुई साताभित्र निर्णय दिने बताएको एपिएफका एक अधिकारीले जानकारी गराए ।