काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासम्मिलित निस अट्रोमिटौले ग्रिक महिला ‘ए’ डिभिजन लिगमा आइतबार कास्टोरियाविरुद्ध २-१ को जित दर्ता गरेको छ ।
जितसँगै १२ खेलमा १२ अंक जोडेको अट्रोमिटौ नवौं स्थानमा छ । पराजित कास्टोरिया समान खेलबाट ५ अंकका साथ १०औं स्थानमा छ ।
चोरपस रंगशालामा घरेलु टोली अट्रोमिटौलाई जित दिलाउन इभाना टर्बोजेभिच र एलिनी गाट्सीले गोल गरे । कोस्टोरियाका लागि इसाबेल बेर्नियरले गोल फर्काइन् ।
खेलको २०औ मिनेटमा टर्बोजेभिचको गोलमार्फत अट्रोमिटौले अग्रता लिएको थियो । ४६औं मिनेटमा बेर्नियरले खेललाई बराबरीमा ल्याइन् ।
गाट्सीले ५९औं मिनेटमा गोल गर्दै अट्रोमिटौलाइ २-१ को रोमाञ्चक जित दिलाइन् ।
अट्रोमिटौका लागि अञ्जिलाको यो दोस्रो खेल हो । यसअघि उनले डेब्यू गरेको खेलमा अट्रोमिटौ ओएफआइसँग ४-० ले पराजित भएको थियो ।