काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ।
आइतबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस एकेडेमीलाई ६४ रनले पराजित गर्यो ।
जितसँगै २ खेलमा ४ अंक जोडेर ग्रेट हिमालयन समूह ‘बी’ को शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित एन्जल्स अंकविहिन छ । यसअघि ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराउँदा एन्जल्स बालुवाटार क्रिकेट क्बलसँग पराजित भएको थियो ।
ग्रेट हिमालयले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको एन्जल्स १८.२ ओभरमा ४८ रनमै समेटियो । एन्जर्सका लागि लक्ष्मन कुँवरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ग्रेट हिमालयका लागि सवालप्रसाद अधिकारी र दर्शिल विष्टले समान ३ तथा इशान पाण्डेले २ विकेट लिए ।
त्यसअघि टस जिते ब्याटिङ रोजेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो । ग्रेट हिमालयका लागि इशान पाण्डेले ३१, साजन बैथले २२ र प्रकाश थापाले अविजित १४ रन बनाए ।
एन्जल्सका लागि उपेन्द्र खत्री र सुजन दाहाले समान २ तथा रतन रौनियारले १ विकेट लिए ।
आइतबारै सम्मपन्न खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘ए’ ले बालुवाटार क्रिकेट क्लबविरुद्ध ९ रनको जित निकाल्यो ।