बिर्तामोड । सिरहाको सलहेस युवा क्लबविरुद्ध १-० को कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेड झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
जितसँगै चर्च ब्वाइजले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा अर्मान्ड बिडोमले गरेको एकमात्र गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो ।
बिडोमले ८१ औं मिनेटमा गोल गरेका थिए । सलहेसका दुई रक्षकलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च ब्वाइज दबाबमा परेको थियो ।
सलहेसले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुई रक्षकलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन ।
खेलको ५२औं मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलकिपर क्रिशल मोक्तानले पञ्च गरेर बचाए ।
शनिबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब सुनसरी र न्युरोड टिम (एनआरटी) काठमाडौं भिड्नेछन् ।