बिर्तामोड । अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनप्रेरित न्युरोड टिम (एनआरटी) झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमलाल राजजंशी रंगशालामा बिहीबार एनआरटीले चित्लाङ एफसीमाथि ५–१ को सहज जित दर्ता गर्यो ।
एनआरटीलाई जित दिलाउन अञ्जनले ह्याट्रिक गर्दा नेमार र शिशिर लेखीले समान एक गोल थपे । चित्लाङका लागि जनक कोइरालाले गोल फर्काए ।
खेलको १३औं मिनेटमा अञ्जनकाृ गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । ३६औं मिनेटमा अञ्जनले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
चित्लाङका जनकले ४२औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
नेमारले ६५औं एनआरटीका लागि तेस्रो गोल गरे । तीन मिनेपछि नै शिशिरले गोल गर्दा एनआरटीको अग्रता ४-१ मा पुग्यो ।
अञ्जानले ८८औं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेका थिए । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबारको पहिलो सेमिफाइनलमा सिरहाको सलहेस फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै दोस्रो सेमिफाइनलमा शनिबार एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबको सामना गर्नेछ ।