काठमाडौं । नेपाली क्रिकेटका लागि आजको दिन विशेष हो । किनभने नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) ले आफ्नो पहिलो विजेता पाउँदै छ ।
एनपिएलको पहिलो संस्करण फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजे सुरु हुनेछ ।
कागज र व्यवहारिक दुवैमा सुदूरपश्चिम उपाधिको प्रबल दाबेदार हो । किन ? सुदूरपश्चिमले अंकतालिकाको शीर्षस्थानमा रहेर प्लेअफ समीकरणमा आफ्नो स्थान पक्का गरेको थियो ।
यो यात्रामा सुदूरपश्चिमसँग आफ्नो फाइनल प्रतिद्वन्द्वी जनकपुरमाथि पाएको ७२ रनको फराकिलो जित पनि थियो । यो जित किन पनि खास रह्यो भने टस हारेर ब्याटिङ निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा १२३ रनको सामान्य योगफल खडा गरेको थियो । जवाफी ब्याटिङ गरेको जनकपुर लज्जास्पद रूपमा ५१ र
नमै अलआउट हुन पुग्यो । यो खेलको अर्को विशेषता के थियो भने जनकपुरले त्यसअघिका सबै खेलमा शतप्रतिशत जित निकालेको थियो ।
पहिलो क्वालिफायरमा यी दुई टिम दोस्रो पटक भिडेका थिए । जनकपुर टोलीले बदला लिने मनसाय बनाएर कीर्तिपुर मैदान ओर्लिएका थिए । तर, दोस्रो पटक पनि उनीहरू निराश बने । जनकपुरलाई हराउन सुदूरपश्चिमलाई कुनै पनि कठिनाइ भएन । ८ विकेटको विजय नतिजा निकाल्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।
जनकपुरले पछि दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्दै फाइनलमा स्थान बनायो । त्यसैले फाइनलको प्रबल दाबेदार जगत टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिम नै रहेको मान्न सकिन्छ ।
सुदूरपश्चिम जनकपुरभन्दा धेरै पक्षमा अगाडि छ । सुदूरपश्चिमलाई ब्याटिङ र बलिङ कुनैमा पनि समस्या छैन । सैफ जैब र विनोद भण्डारीको जोडी एनपिएलकै सबैभन्दा बलियो ओपनिङ जोडी हो । क्वलिफायरकै कुरा गर्दा यी दुईले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरेका थिए । तेस्रो नम्बरका ब्याटर ब्रेन्डन म्याकमुलेन पनि सुदूरपश्चिमका भरपर्दा खेलाडी हुन् । अलराउन्डर तथा कप्तान दीपेन्द्रसिंह ऐरी त एनपिएलकै सर्वोत्कृष्ट खेलाडी बन्ने दौडमा अगाडि छन् । मध्यक्रमका ब्याटर उनी टोलीका सर्वाधिक रनकर्ता हुन् । उनले ८ खेलमा २१८ रन बनाइसकेका छन् । जैब २०६ रनसहित दोस्रो स्थानमा छन् । समान खेलबाट विनोदले १९४ र म्याकमुलेनले १८७ रन जोडेका छन् ।
बलिङतर्फ तीव्र गतिका बलर स्कट कुगुलेइन सर्वाधिक विकेटकर्ताको दौडमा शीर्षस्थानमा छन् । उनको नाममा १६ विकेट छ । जैब ११ विकेटसहित शीर्ष आठमा छन् । फाइनलमा दीपेन्द्रसिंहबाट पनि विकेटको अपेक्षा गर्न सकिन्छ । अहिलेसम्म ८ विकेट आफ्नो नाममा लेखाइसकेका दीपेन्द्रले लिग चरणमा जनकपुरविरुद्ध दुई विकेट लिएका थिए । जहाँ सुदूरपश्चिमको टोली सन्तुलित छ, जनकपुरमा एकाधबाहेक अन्य खेलाडीहरू चल्न सकिरहेका छैनन् ।
सुरुआती चरणमा म्याच विनिङ इनिङस खेलिरहेका तेस्रो नम्बरका ब्याटर लाहिरु मिलिन्थाबाट पछिल्लो ४–५ खेलमा रन निस्किरहेको छैन । ओपनर आसिफ शेखले ९ खेलमा औसतले १४ रन बनाएका छन् । उनका ओपनिङ जोडी अनिल शाहले फाइनल नखेल्ने यसअघि नै पक्का भइसकेको छ । हातमा चोट बोकेका अनिल पछिल्ला दुई खेलयता अनुपस्थित छन् । अनिलको स्थानमा ओपनिङ गर्न आएका शुभ कंशाकारले पनि पहिलो विकेटका लागि बलियो साझेदारी गर्न सकेका छैनन् । जहाँ विनोद र जैबले ५८ रनको साझेदारी गरेका थिए । दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध जनकपुरले मात्र ९ रनमा पहिलो विकेट गुमाएको थियो । ब्याटिङ पावर प्ले (सुरुआती ५ ओभर) जनकपुरले २६ रन जोड्दा तीन विकेट गुमाएको थियो । ११९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरका लागि पछि मध्यक्रमका ब्याटर जिम्मी निसमले ४५ रनको इनिङस खेले । त्यसपछि बल्ल जनकपुरले फाइनल यात्रा तय गरेको हो । यस हिसाबमा न्युजिल्यान्डका निसम जनकपुरको ब्याटिङमा वानम्यान आर्मी साबित भइरहेका छन् ।
सर्वाधिक रनकर्ताको दौडमा तेस्रो स्थानमा रहेका निसमले २४३ रन बनाइसकेका छन् । पहिलो क्वालिफायरमा पनि उनले ४५ रनको योगदान गरेका थिए । यस्तोमा शनिबार सुदूरपश्चिमले निसमलाई सस्तैमा पेभिलियन फर्काउन सके उपाधि जित्ने सम्भावना बलियो हुनेछ । एक हिसाबले शनिबारको फाइनल खेल टाइगरविरुद्ध वानम्यान आर्मी अर्थात दीपेन्द्रसिंह ऐरीविरुद्ध जिम्मी निसम ।
पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरको चिन्ता गर्नुपर्ने अर्को पक्ष हो खराब फिल्डिङ । खराब फिल्डिङका कारण टोलीले अनावश्यक रन खर्चिरहेको छ । जसले गर्दा विपक्षीलाई फाइदा पुग्दै आएको छ ।
निसमको ब्याटिङबाहेक जनकपुरमा सकारात्मक पक्ष नै नभएको भने पक्कै होइन । स्पिनर ललितनारायण राजवंशीको सानदार बलिङप्रेरित जनकपुरले विपक्षी टोलीलाई कम रनमा रोक्न सफल भएको छ । सर्वाधिक विकेटकर्ताको दौडमा कुगुलेइनलाई पछ्याइरहेका ललितको नाममा पनि १६ विकेट छ । ललित एनपिएलकै हाइलाइटेड खेलाडी हुन् । शनिबार सुदूरपश्चिमका ब्याटर ललितको ओभरमा सतर्क रहन आवश्यक छ । ललित जनकपुरका लागि कतिसम्म भरपर्दा खेलाडी हुन् भने कर्णालीविरुद्ध दोस्रो ओभर फ्याँक्न आएका ललितले आफ्नो पहिलो बलमै विकेट लिए । जनकपुरले भर गर्न सक्ने अर्का खेलाडी हुन् हर्ष ठाकर । ११ विकेट आफ्नो नाम गराइसकेका ठाकरबाट जनकपुरलाई फाइनलमा पनि विकेटको अपेक्षा रहनेछ ।
कागज र व्यवहारमा बलियो देखिए पनि रोयल्सका कप्तान दीपेन्द्रसिंह जनकपुरलाई हल्का रूपमा नलिएको प्रतिक्रिया दिन्छन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले जनकपुरविरुद्ध दुई खेलमा शतप्रतिशत जित निकालेका छौं । तर, फाइनल भनेको फाइनल हो । जे पनि हुनसक्छ । जनकपुर राम्रो टोली हो । हामीले जनकपुरलाई हल्का रूपमा लिएका छैनौं ।’
कप्तानमा अनिललाई प्रतिस्थापन गरेका जनकपुरका आसिफले पनि पछिल्ला खेलमा भएका कमजोरीलाई सुधार्दै शनिबार राम्रो खेल प्रस्तुत गर्ने बताए । आसिफले भने, ‘हामीले लगातार दुई खेलमा सुदूरपश्चिमविरुद्ध हार बेहोरेका छौं । तर, हामी आत्तिएका छैनौं । यी दुई खेलमा हाम्रो ब्याटिङ चल्न सकेको थिएन । यसलाई हामी फाइनलमा सुधार्ने छौं । फाइनल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा छ ।’