काठमाडौं । स्ट्राइकर सुजन डंगोलको गोलमा नेपालले साफ यु–२० च्याम्पियनसिपमा भुटानविरुद्ध १–० को अग्रता लिएको छ ।
खेलको तेस्रो मिनेटमै नेपालले ‘इन्डाइरेक्ट’ फ्रिकिक प्राप्त गरेको थियो । पाँचौं मिनेटमा उक्त अवसरलाई सुजनले सदुपयोग गरेका हुन् ।
भुटानी गोलकिपर तानदीन पेन्जोरले आफ्नै सहकर्मीले दिएको बललाई हातले छुँदा नेपालले इन्डाइरेक्ट फ्रिकिक पाएको थियो । पाएको अवसरमा नेपालले चलाखीपूर्ण ढंगबाट लियो । पाँच खेलाडी संलग्न रहेको बलमा अन्तिम प्रहार सुजनको रह्यो । सुजनले ‘न्यर पोस्ट’मा बललाई जाली चुमाए ।
खेलको १४औं मिनेटमा नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेलाई फउल गर्न पुग्दा भुटान १० खेलाडीमा सिमित भयो । थिनले येजर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ‘वान म्यान एडभान्टेज’ को फाइदा भने नेपालले लिन सकिरहेको छैन । इन्जुरी समयमा कप्तान धर्वेन्द्र कुंवर गोलको निकै करिब रहे । तर, दोस्रो बारमा उनले गरेको ‘अटेम्प्ट’ बाहिरियो ।
