काठमाडौं । तीव्र गतिका बलर हेमन्त धामीले ६ विकेट लिए पछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।
सोमबार विरगञ्जमा सम्पन्न खेलमा सुदूरश्चिमले कर्णालीलाई ४ विकेटले हराएको हो ।
कर्णालीले दिएको १२० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण ठगुन्ना सर्वाधिक २६, खडक बोहोरा २३ रनमा आउट भए । मिलन बोहोरा १८ तथा कप्तान शेर मल्ल १० रनमा अविजित रहे ।
कर्णालीका लागि अनुज चनरा र कप्तान दिवान पुनले समान २ तथा दीपेन्द्र रावत र प्रकाश जैशीले समान १ विकेट आफ्नो नाम गरे ।
त्यसअघि टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले कर्णालीलाई ३२ ओभरमा ११९ रनमा अलआउट गरेको हो ।
एक समय ८६ रनमा मात्र ३ विकेट गुमाएको कर्णालीले थप ३३ रन जोड्दा ७ विकेट गुमायो । हेमन्तले पछिल्लो ७ मध्ये ५ विकेट आफ्नो नाममा गरे ।
कर्णालीका लागि विपिन रावल विपिन रावल सर्वाधिक ३३, सुनिल धमला २८ तथा अरविन्द घर्ती १३ रनमा आउट भए । कर्णालीका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि हेमन्तले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट आफ्नो नाममा गर्दा कप्तान शेर मल्ल, अशोक धामी, नारायण जोशी र मिलन बोहोराले समान १ विकेट लिए ।
जितका साथ प्रतियोगिता सुरुवात गरेको सुदूरपश्चिमको २ अंक भएको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशसँग अंक बाडेको कर्णालीको भने २ खेलबाट १ अंक मात्र रहेको छ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
