काठमाडौं । अलराउण्डर सन्तोष यादवको अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशीलाई पराजित गरेको छ । ।
जनकपुरमा सोमबार सम्पन्न खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो । सन्तोषले ब्याटिङमा ४८ रन बनाउँदा बलिङमा ७ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए ।
कोशीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २४९ रनको योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान देबले सर्वाधिक ९२ रन जोडे । उनलेले १०० बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे ।
देव आफ्नो तथा प्रदेशका लागि पहिलो शतक बनाउँन मात्र ८ रनले चुकेका थिए । सन्तोष यादब ६२ बलमा ४८ रनमा आउट हुँदा राजेन्द्र बम १६ रनमा अविजित रहे । कोशीका लागि कप्तान सुजन थपलियाले ४ तथा दिपेश कँडेलले २ विकेट लिए ।
२५० रनको लक्ष्य पछ्याएको कोशी ३१ दशमलब ४ ओभरमा १०१ रन जोड्दै अल आउट भयो । कोशीका लागि पुर्व कप्तान अंकित सुवेदी ४६ बलमा सर्वाधिक ३० रनमा आउट भए । कप्तान सुजन थपलिया ११ र दीपेश कँडेलले १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीलाई सस्तैमा समेट्न सन्तोष यादवले ४, राजेन्द्र बमले ३ र निर्मल गुरुङले २ विकेट लिए । पहिलो खेलमा कर्णाली प्रदेशसँग समान १ अंक बाडेको लुम्बिनी जितका साथ ३ अंकमा पुगेको छ । पहिलो खेलमा मधेश प्रदेशसँग अंक बाडेको कोशीको २ खेलबाट १ अंक रहेको छ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
