काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रबार एफसी खुमलटारविरुद्ध ३-०को सहज जित दर्ता गरेको छ ।
जितसँगै १९ खेलमा ३५ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ । पराजित खुमलटार समान खेलबाट ११ अंकका साथ ११औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन उप्रान्त आले र रोमन श्रेष्ठले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको ३४औं मिनेटमा अमित माझीबाट आत्मघाती गोल हुन पुग्दा थ्री स्टारले अग्रता लिएको थियो । ५४औं मिनेटमा उप्रान्तले टोलीको अग्रता दोब्बर बनाए ।
रोमनले ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै थ्रीस्टारलाई सहज स्थितीमा पुर्याए । शहिल खड्काले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ८१औं मिनेटमा खुमलटार १० खेलाडीमा समेटिएको थियो ।
शुक्रबारै सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले एपिएफ फुटबल क्लबलाई १-० ले पराजित गर्यो ।