काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो फाइनल प्रतिद्धन्द्धी जनकपुर बोल्ट्सलाई हल्का रुपमा नलिएको प्रतिक्रिया दिएका छन् ।
शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको फाइनल खेल हुँदैछ । जहाँ सुदूरपश्चिमले जनकपुरको सामना गर्दैछ । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दीपेन्द्रसिंहले जनकपुरलाई सहज रुपमा नलिने बताएका हुन् ।
‘हो ! हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं । तर, यो भनिरहँदा हामीले सहज रुपमा लिनु हुन्न । जनकपुर एकदमै बलियो छ । लिग चरण र क्वालिफायर्समा जुन मनसाय लिएर जनकपुरविरुद्ध मैदानमा उत्रिएका थियौं, त्यही मनोभावना लिएर भोलि खेल्नेछौं । फाइनल खेलको दबाब नलिई आफ्नो शतप्रतिशत दिनेछौं ।’
लिग चरणको खेलमा जनकपुरले सुदूरपश्चिमविरुद्ध ७२ रनको लज्जास्पद हार बेहोरेको थियो । सुदूरपश्चिमले दिएको १२३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अल आउट भएको थियो । अंकतालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ समीकरणमा स्थान बनाएको सुदूरपश्चिमले दोस्रो स्थानको जनकपुरविरुद्ध पहिलो क्वालिफायर्समा पनि सहज जित हासिल गर्यो ।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो । यसरी पछिल्ला दुई खेलमा जनकपुरविरुद्ध कुनै पनि कठीनाई विना खेल आफ्नो पक्षमा पारेको सुदूरपश्चिम शनिबार उपाधिको प्रबल दाबेदार हो ।
उता जनकपुरका कप्तान आसिफ शेख फाइनलमा इतिहास भुलेर उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन् ।
‘बदला लिने भावना छैन । हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं । अघिल्ला दुई खेलमा हार बेहोरे पनि आत्तिएका छैनौं,’ आसिफले भने, ‘हामीले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ गर्न सकेका थिएनौं । हामीसँग अनुभवी र युवा ब्याटर छन् । फाइनलमा ब्याटिङ सुधार गर्दै राम्रो प्रदर्शन गर्ने सोचेका छौं ।’
फाइनल खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।