कार्तिक ११, २०८१ आइतबार | १४:२२:००
साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

काठमाडौं । भारतीय महिला फुटबलकी गोल मेसिन एनगाङ्गोम बालादेवीले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा ५० अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरिन् । 

बालादेवीले चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पेनाल्टी बक्सभित्र प्राप्त इन्डाइरेक्ट फ्रिकिक अवसर सदुपयोग गर्दै यो उपलब्धि हासिल गरेकी हुन् । सहकर्मी मनीषाको क्विक पासमा उनले आकर्षक ‘टप कर्नर’ गोल गरेकी थिइन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा पाकिस्तानविरुद्ध भारतले ५-२ को जित पाएको थियो । नतिजा एकपक्षीय देखिए पनि पाकिस्तानले भारतलाई कडा चुनौती प्रस्तुत गरेको थियो । बालादेवीको त्यो गोलमा टिम सहकर्मीले हेर्नलायक सेलिब्रेसन मनाएका थिए । दोस्रो खेलमा पनि बालादेवीले गोल गरिन् । तर, यसपालि टोली उनको गोलमा रम्न पाएन । साबिक विजेता बंगलादेशसँग ३-० ले पछाडि परेको स्थितिमा बालादेवीले हेडरमार्फत गोल फर्काएकी थिइन् । त्यसपछि भारतले कुनै गोल थप्न सकेन । खेल बंगलादेशले ३-१ ले जित्यो । यो भारतका लागि साफ च्याम्पियनसिपमा बंगलादेशसँग लगातार दोस्रो हार थियो । अघिल्लो संस्करण पनि यही मैदानमा बंगलादेशले भारतविरुद्ध ३-० को जित रचेको थियो ।

आइतबार साँझ भारतले दोस्रो सेमिफाइनलमा आयोजक नेपालसँग खेल्दै छ । बालादेवीले गोलको लय कायम राख्ने हो भने नेपाललाई भारतसँग हार टार्न निकै सकस हुनेछ । बालादेवी प्राप्त अवसरमा गोल गरिहाल्ने खेलाडी हुन् । यद्यपि उनी बंगलादेशसँग भने एउटा सुनौलो अवसरमा चुकिइन् । तथापि बंगलादेशसँग कप्तानी आर्मब्यान्ड लगाएकी बालादेवीले गोल फर्काउन अथक प्रयास गरिरहिन् । गोल मात्र ननिस्किएको हो ।

पाकिस्तानविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै बालादेवी (१० नम्बर जर्सी) ।

दक्षिण एसियाली फुटबलमा बालादेवी सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा तीन गोलले अगाडि छन् सेमिफाइनल प्रतिद्वन्द्वी नेपालकी गोलमेसिन सावित्रा भण्डारी ‘साम्बा’ । सावित्राको नाममा ५४ गोल छ । 

आइतबार साफ च्याम्पियनसिपको पुरानो प्रतिद्वन्द्वी नेपाल र भारत आमनेसामने भइरहँदा यिनै दुई खेलाडीको प्रदर्शनले जितको छिनोफानो गर्नेछ । सावित्राले पनि समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध एक गोल गरेकी थिइन् । युरोपको व्यावसायिक फुटबलको व्यस्त तालिकाका कारण पहिलो दुई खेल गुमाएकी सावित्रा श्रीलंकासँग मैदान उत्रिएकी थिइन् ।

सावित्राले नेपालको जर्सीमा लगातार ५ खेलमा गोल गरेकी छन् । गत वर्ष साउदी अरेबियामा सम्पन्न (पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा उनले समूह चरण र सेमिफाइनल गरी ४ खेलमा कुल ९ गोल गरेकी थिइन् । नेपाल उपविजेता रहेको उक्त प्रतियोगितामा उनले फाइनल गुमाएकी थिइन् । फ्रेन्च क्लब एनभान्टे गेङ्गाङ्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्राले फिफा विन्डोका कारण फाइनल गुमाएकी हुन् । त्यसयता उनले तीन अन्तर्राष्ट्रिय खेल गुमाएकी छन् ।

बालादेवी लामो समयपछि भारतीय राष्ट्रिय फुटबलमा फर्केकी खेलाडी हुन् । ३२ वर्षीया बालादेवी चार वर्षअघि स्कटिस प्रिमियर लिग क्लब रेन्जर्स एफसीमा आबद्ध भएकी थिइन् । भारतीय फुटबलमा कुनै पनि खेलाडीका लागि यो एउटा दुर्लभ उपलब्धि थियो । 

आशालता देवीका साथ बालादेवी (बायाँ) ।

रेन्जर्सले बालादेवीलाई १८ महिनाका लागि अनुबन्ध गरेको थियो । तर, बालादेवीले लिगमा एक गोलमात्र के गरेकी थिइन्, आफ्नो प्रतिभा प्रमाणित गर्न नपाउँदै घुँडामा गहिरो चोट बोक्न पुगिन् । बालादेवीले यही कारण अघिल्लो संस्करणको साफ च्याम्पियनसिप पनि गुमाएकी थिइन् । उनीसँगै अन्य सिनियर खेलाडी प्राविधिक कारण काठमाडौं आउन सकेका थिएनन् ।

यसपालि भने भारतको उत्तरपूर्वी राज्य मनिपुरकी बालादेवीको पुनरागमनले टोलीको मनोबल उच्च छ । फेरि बालादेवीले लगातार दुई गोल गरेसँगै टोलीमा उर्जा थपिएको छ । भलै, बंगलादेशविरुद्ध भारतले नमीठो पराजय बेहोरेको होस्, टोली यसपालि उपाधिका लागि तयार छ ।

सावित्राले साफ च्याम्पियनसिपमा कुल २० गोल गरेकी छन् । बालादेवीको यो भन्दा दुई गोल बढी छ । सावित्राले साफ च्याम्पियनसिपमा भारतविरुद्ध २ गोल गरेकी छन् । २०१४ को फाइनलमा भारतले नेपाललाई ६-० ले पराजित गरेको थियो । त्यसमा बालादेवी एक्लैले ४ गोल गरेकी थिइन् ।

भारतले अघिल्लो संस्करण सेमिफाइनलमा पहिलो पटक नेपालसँग पराजय बेहोरेको थियो । उक्त खेलमा बालादेवीसँगै सावित्रा पनि अनुपस्थित थिइन् । टोलीमा समावेश भएता पनि सावित्राले डेंगुका कारण ऐतिहासिक जित पाएको खेल गुमाएकी थिइन् ।

श्रीलंकाविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै सावित्रा भण्डारी (९ नम्बर जर्सी) ।

भारतीय टिम सावित्रा कस्ती खेलाडी हुन् भनेर जानकार छ । छिटो र छरिटो सावित्राले सन २०२३ को फेब्रुअरीमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतविरुद्ध दुई गोल गर्दै सनसनी मच्चाएकी थिइन् । यही खेलमा त हो बालादेवी डरलाग्दो इन्जुरीलाई जित्दै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको । भारतको जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा नेपाल ८९औं मिनेटसम्म २-० ले पछाडि थियो । पछि सावित्राले ‘साम्बा म्याजिक’ देखाइन् र नेपालले भारतको मुखबाट जित खोस्यो । अर्को मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको थियो ।

नेपाल पनि बालादेवीको लयबारे सजक छ । सावित्रा आफैंलाई पनि बालादेवीसँगै कप्तान आशालता देवीप्रति उच्च सम्मान छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बालादेवीलाई रोक्न तयार रहेको बताउँछन् । ‘मनीषाले बालालाई लामो दुरीबाट पास उपलब्ध गराइरहेको छ । बालादेवी एउटै ठाउँमा अडिग रहेर मौकाहरू सृजना गर्छिन् । भोलि मनीषालाई रोक्न सक्यौं भने बालादेवीबाट गोल निस्कने छैन,’ तामाङको बुझाइ छ ।

आइतबार नेपाललाई घरेलु समर्थकको साथ हुनेछ । समर्थकको बाक्लो साथका कारण नै नेपालले २०२२ मा भारतलाई इतिहासमै पहिलो पटक पराजित गरेको थियो । पहिलो हाफमा मिडफिल्डर प्रीति राईको पासमा फरवार्ड रश्मिकुमारी घिसिङले गरेको गोल निर्णायक बनेको थियो । उसो त २०१९ मा भएको फाइनलमा पनि नेपाललाई घरेलु समर्थकको बलियो साथ थियो । विराटनगरको सहिद रंगशालामा सम्पन्न पाँचौं संस्करण फाइनलमा नेपाल फाइनलमा ३-१ ले पराजित भएको थियो । भारतका लागि यो पनि एउटा प्रेरणास्रोत हो ।

नेपालले कमजोर श्रीलंकाविरुद्ध ३-५-२ फर्मेसनमा खेलेको थियो । तर, भारत बलियो टोली हो । जोनल मार्किङका लागि प्रशिक्षक तामाङ भारतविरुद्ध ४-४-२ फर्मेसनमा जाने बताउँछन् । श्रीलंकाविरुद्ध प्रीति (राई) सामान्य घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन् । तर, खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक तामाङले प्रीति पूर्ण रूपमा फिट रहने बताएका थिए । भारतका लागि भने अनुभवी फरवार्ड अञ्जु तामाङले नखेल्ने सम्भावना बढी छ । बंगलादेशसँग उनको घुँडामा झट्का लागेको थियो । पछि उनलाई प्रतिस्थापन गरिएको थियो । बंगलादेशसँग भारतले ४-२-३-१ फर्मेसनमा खेलेको थियो । अञ्जुको अनुपस्तिथिले सेमिफाइनलमा यो फर्मेसनमा फेरबदल हुनसक्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्रिय टोलीका लागि अभ्यास गर्दै सावित्रा । 

भारतका लागि बालादेवीसँगै विंगर मनीषा हेर्नलायक हुनेछिन् । नेपालबाट सावित्रासँगै प्रतियोगितामा सात गोल गरेकी फरवार्ड रेखा पौडेल भारतका लागि खतरा बन्न सक्छिन् ।

साफ च्याम्पियनसिपमा भारत र नेपाल सातौं पटक एकअर्कासँग खेल्दै छ । नेपालले फाइनलमा चार पटक र सेमिफाइनलमा एक पटक भारतसँग हार ब्यहोरेको छ । नेपालले अघिल्लो संस्करण भारतलाई निराश पारेको थियो । नेपाल आइतबार त्यही कथा दोहोर्याउने लक्ष्यसाथ मैदान उत्रिनेछ ।


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar