फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः अस्ट्रेलियामाथि नाइजेरियाको रोमाञ्चक जित

काठमाडौं । नाइजेरियाले फिफा महिला विश्वकपमा आयोजक अस्ट्रेलियाविरुद्ध ३-२ को रोमञ्चक जित निकालेको छ ।

जितसँगै दुई खेलमा चार अंक जोडेको नाइजेरिया समूह ‘बी’ काे शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको अस्ट्रेलिया समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।

ब्रिसबोनस्थित सनक्रप रंगशालामा बिहीबार नाइजेरियालाई जित दिलाउन उचेना कानु,ओसिनाची ओहले र असित ओशोलाले समान एक गोल गरे । अस्ट्रेलियाका लागि इमिली भान इग्मोन्ड र एलाना केनेडीले समान एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा इग्मोन्डको गोलमार्फत अस्ट्रेलियाले अग्रता लिएको थियो । अस्ट्रेलियाको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन इन्जुरी समयमै कानुले गोल गर्दै नाइजेरियालाई बराबरीमा ल्याइन् ।

६५औं मिनेटमा ओहलेको गोलमार्फत नाइजेरिया २-१ ले अघि बढ्यो । ७२औं मिनेटमा ओशोलाले टोलीका लागि तेस्रो गोल गरिन् ।

खेलको इन्जुरी समयमा केनेडीले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्याे पर्याप्त बन्न सकेन ।

पहिलो खेलमा अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गर्दा नाइजेरियाले क्यानडासँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २-० ले पराजित गर्दा नेदरल्यान्ड्स र अमेरिका १-१ को बराबरीमा रोकिएका थिए ।