युरो कप छनोट

बेल्जियमको जितमा लुकाकुको ह्याट्रिक

काठमाडौं । स्ट्राइक रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो कप छनोट- २०२४ अन्तर्गत समूह ‘एफ’ को खेलमा घरेलु टोली स्विडेनमाथि ३-० को सहज जित निकालेको छ ।

यस जितसँगै बेल्जियमले तीन अंक जोड्दा स्विडेनले हारबाट छनोटको सुरुआत गरेको छ ।

फेन्ड्स एरिनामा शुक्रबार सम्पन्न खेलको ३५ औं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले डोडी लुकबाकियोको पासलाई सदुपयोग गरेका हुन् ।

४९ औं मिनेटमा लुकबाकियोकै पासमा लुकाकुले ब्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम २-० ले अघि बढ्यो । ८२ औं मिनेटमा जोहान बाकायोकोको पासलाई पोस्टको दिशा दिँदै लुकाकुले ह्याट्रिक पूरा गरे ।

बेल्जियमका लागि लुकाकुको यो तेस्रो ह्याट्रिक हो । यसअघि उनले सन् २०१४  मा लक्जेम्बर्ग र सन् २०१७ मा जिब्राल्टरविरुद्ध ह्याट्रिक गरेका थिए ।

यही खेलमार्फत जाल्टन इब्राहिमोभिचले करिब एक वर्षपछि स्विडेनको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन्  । इब्राहिमोभिच ७३औं मिनेटमा एलेक्सान्डर इसाकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यससँगै ४१ वर्ष, पाँच महिना र २१ दिन उमेरका इब्राहिमोभिच युरोपियन च्याम्पियनसिप छनोट खेल्ने दोस्रो पाका खेलाडी बनेका छन् । यसअघि शुक्रबार राति नै ग्रीसविरुद्ध मैदान उत्रिँदै जिब्राल्टरका फरवार्ड लि कासियारो युरोपियन च्याम्पियनसिप खेल्ने सबैभन्दा पाका खेलाडी बनेका थिए ।

कासियारो ले सन् १९८३ मा इटालियन गोलरक्षक डिनो जोफले बनाएको कीर्तिमान तोड्को हुन् । कासियारो इब्राहिमोभिच मात्र चार दिनले जेठो छन् ।

यही समूहको अर्को खेलमा अष्ट्रियाले अजरबैजानमाथि ४-१ को सहज जित निकाल्दै छनोटको सुखद सुरुआत गरेको छ ।