इतिहासमा विश्वकप

म्याराडोनाको प्रेरणामा अर्जेन्टिनालाई दोस्रो उपाधि

१९८६, अर्जेन्टिना (१२औं विश्वकप)

मे ३१ देखि जुन २९ सम्म
सहभागी टोली- २४
खेल संख्या- ५२
गोल संख्या- १ सय ३२ (प्रतिखेल २.५ गोलऔसत)
दर्शक- २३ लाख ९३ हजार ३१ (४६ हजर १९ प्रतिखेल)
विजेता- अर्जेन्टिना
उपविजेता- पश्चिम जर्मनी 
तेस्रो स्थान- फ्रान्स
चौथो स्थान- बेल्जियम
गोल्डेन शु- ग्यारी लिनेकर (इङ्ल्यान्ड)
गोल्डेन बल- डिएगो म्याराडोना (अर्जेन्टिना)
उत्कृष्ट युवा खेलाडी- इन्जो सिफो (बेल्जियम)
फेयर प्ले अवार्ड- ब्राजिल

विश्वकप दुई पटक आयोजना गर्ने मेक्सिको पहिलो राष्ट्र बन्यो । सन् १९७० मा उत्तर अमेरिकी राष्ट्रले पहिलो पटक फुटबलको यो मेला आयोजना गर्दा ब्राजिलले प्रतियोगिता जितेको थियो र पेले त्यसका स्टार थिए । यस पटक अर्जेन्टिनाले उपाधि जित्यो र म्याराडोना विवादरहित नायक बने । संयोगले सर्वकालिन फुटबलरमा पेले र म्याराडोनामा को उत्कृष्ट भन्ने प्रश्नको उत्तर अझै स्पष्ट छैन ।

तथ्यांकले भन्छ १९८६ को प्रतियोगितामा उत्कृष्ट म्याराडोनाको नजिक नै कोही थिएनन् । अर्जेन्टिनाले फाइनलमा जर्मनीलाई ३-२ ले पराजित गरी प्रतियोगितामा गरेको कुल १४ गोलमा १० नम्बर जर्सीधारी म्याराडोनाले पाँच गोल गरे भने पाँचमा पास उपलब्ध गराए । जर्मनी लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो ।

प्रतियोगितामा म्याराडोनाको आधा कहानी मात्र थियो । अजटेका रंगशालामा इङ्ल्यान्डमाथिको क्वार्टरफाइनलमा २-१ को विजय हात पार्दा म्याराडोनाले दुई यस्ता गोल गरे, जसको वर्णन जति गरे पनि कम हुन्छ । पहिलो गोल जसलाई म्याराडोनाले ‘भगवान्को हात’ भन्छन् ।

क्रस आएको बललाई इङ्ल्यान्डका गोलरक्षक पिटर सिल्टनले पन्च गर्न अगाडि बढ्दा फुच्चे प्लेमेकर म्याराडोनाले हातले नै बललाई गोल गरिदिएका थिए । त्यसको तीन मिनेटपछि उनले दोस्रो उत्कृष्ट गोल गरेका थिए । आफ्नै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै उनले इङ्ल्यान्डका पाँच खेलाडी र गोलरक्षक सिल्टनलाई बिट गरी  गरेको गोललाई अहिले पनि विश्वकप इतिहासकै उत्कृष्ट गोल मानिन्छ ।

आर्थिक कारण देखाई कोलोम्बियाले नाम फिर्ता लिएपछि मेक्सिकोले प्रतियोगिता आयोजना गरेको थियो । १९८५ को सेप्टेम्बरमा शक्तिशाली भूकम्पले झन्डै २० हजार मेक्सिकनको ज्यान गएको थियो । तर भूकम्पले रंगशालालाई कुनै असर पारेको थिएन र मेक्सिकोले यादगार प्रतियोगिता आयोजना गरेर देखायो ।

म्याराडोना प्रमुख आकर्षण थिए भने इङ्ल्यान्डका स्ट्राइकर ग्यारी लिनेकर प्रतियोगिताका केही नायकमध्ये एक थिए । उनले ६ गोल गर्दै गोल्डेन शू जितेका थिए । पोल्यान्डविरुको ह्याट्रिकले प्रतियोगितामा उनलाई उच्च गोलकर्ता बनाएको थियो ।

खराब सुरुआत र कप्तान ब्रायन रोब्सन खेल्न नसक्ने भएको अवस्थामा लिनेकरले गोल गर्नेक्रमलाई जारी राख्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए । अर्जेन्टिनासँग २-० ले नै पछाडि रहेको अवस्थामा उनले इङ्ल्यान्डका लागि एक गोल फर्काए भने थोरैले मात्र बराबरी गोलबाट टाढा रहे ।

क्यानाडा र इरानसँगै नवप्रवेशी टोली डेनमार्कले आक्रामक शैलीमा खेल्दै लगातार तीन खेल जितेको थियो । त्यसमा एक विजय जर्मनीविरुद्ध थियो । ‘डेनिस बम’ उपनाम पाएको डेनमार्कको टोलीमा माइकल लाउड्रुप र प्रेबेन इल्कजाइरजस्ता खेलाडी थिए । उरुग्वेलाई ६-१ ले पराजित गर्दा इल्कजाइरले डेनमार्कका लागि ह्याट्रिक गरेका थिए ।

सोभियत युनियनले पहिलो चरणमा हंगेरीमाथि ६-० को सबैभन्दा ठूलो विजय पायो । टोलीमा युइएफए कप विनर्स कप जितेका डिनामो किभका इगोर बेलानोभसहितका खेलाडी थिए । बेलानोभले त्यसपछि १९८६ को युरोपेली वर्ष खेलाडीको पुरस्कार जितेका थिए । छोटो समयको सूचनामा डिनामोका प्रशिक्षक भालेरी लोबानोभस्कीले सोभियत युनियनको टोली सम्हालेका थिए ।

डेनमार्कजस्तै सोभियत युनियन पहिलो चरणमा समूह विजेता बन्यो । तर दोस्रो चरणमा बेल्जियमसँग ४-३ ले पराजित भयो । बेलानोभले सो खेलमा ह्याट्रिक गरेर पनि विश्वकपमा पराजित टोलीको सदस्य हुने तेस्रो खेलाडी बने । डेनमार्कको पराजय झन अप्रत्यारिलो थियो । टोली स्पेनसँग ६-१ ले पराजित भयो । स्पेनका इमिलिओ बुत्रागुइनोले ४ गोल गरेका थिए ।

यसपटक विश्वकपको संरचनामा परिवर्तन ल्याइएको थियो । दोस्रो चरणको समूह चरण हटाई त्यसको स्थानमा अन्तिम १६ नकआउट चरण राखिएको थियो । त्यसको मतलब तेस्रो स्थानमा रहने ४ टोलीले नकआउट चरणमा प्रवेश पाउँथे ।

तर मोरक्कोले त्यो कुरिरहनु परेन, जसले टोलीलाई पहिलो चरण पार गर्ने पहिलो अफ्रिकी राष्ट्र बनायो । मोरक्कोले समूह चरणमा पोर्चुगललाई ३-१ ले पराजित गरेको थियो भने त्यसपछिका खेलमा पश्चिम जर्मनीसँग घुँडा टेकेको थियो ।

जर्मनीले त्यसपछि नकआउट चरणको खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । मेक्सिकोका मानुइल नेग्रेटेले प्रतियोगिताकै उत्कृष्ट गोलहरूमा गनिने किसिमले बाइसाइकल किकमा गोल गरे ।

तीन क्वार्टरफाइनल खेलको निर्णय पेनाल्टी सुटआउटमै भए । चुलबुले गोलरक्षक जिएन मारिइ पफाफको सानदार प्रदर्शनमा बेल्जियमले स्पेनलाई पछा¥यो भने फ्रान्सले ब्राजिलको आशा समाप्त पारिदियो । फ्रान्सले ४-३ ले जितेको यस खेललाई पेलेले ‘ऐतिहासिक’ भनेका थिए ।

यसअघि साविक विजेता इटालीलाई पराजित गरेको युरोपियन च्याम्पियन फ्रान्सले संगठित ब्राजिलसँगको निर्धारित खेल १-१ को बराबरीमा टुंग्याएको थियो भने अतिरिक्त समयमा पनि गोल नभएपछि निर्णय पेनाल्टी सुटआउटमा भयो, जहाँ जिकोको प्रहारलाई फ्रान्सका गोलरक्षक जोइल बाट्सले रोकेका थिए ।

तर मिचेल प्लाटिनीले समेत पेनाल्टी गुमाए पनि लुइस फर्नान्डेजको निर्णायक गोलमा फ्रान्सले खेल आफ्नो पक्षमा पा¥यो । तर फ्रान्सको दुर्भाग्य टोली फेरि सेमिफाइनलमा जर्मनीसँग पराजित हुन पुग्यो ।

बेल्जियमविरुद्धको सेमिफाइनलमा २-० को विजय हात पार्दा दुवै गोल गरेका म्याराडोनाले फेरि अर्को स्मरणीय गोल गरे । तर फाइनल उनका लागि त्यति सजिलो भएन । लोथर म्याथ्युजले उनलाई नियन्त्रणमा लिए । सेन्ट्रल रक्षक जोसे लुइस ब्राउनले अर्जेन्टिनाको लागि पहिलो गोल गरे ।

कार्लोस बिलार्डोको टोलीका ब्राउन अपत्यारिला नायक मध्येका एक थिए । विश्वकप खेलिरहे पनि ब्राउन क्लबको खोजीमा थिए । जर्ज भाल्डानोले अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाए । कार्ल हेइन्ज रुमेङ्गे र रुडी भोलरले ६ मिनेटको अन्तरमा गोल गरी जर्मनीलाई बराबरीमा ल्याए ।

म्याथ्युजले म्याराडोनालाई पूरै ९० मिनेट नियन्त्रणमा राख्न सकेनन् । भोलरले ८०औं मिनेटमा बराबरी गोल गरेको तीन मिनेटपश्चात् नै म्याराडोनाले दिएको पासलाई जर्ज बुरुचागाले तेस्रो गोल गरे, जसले अर्जेन्टिनालाई दोस्रो पटक विश्वकपको उपाधि दिलायो ।