काठमाडौं । शाहिन शाह अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनप्ररित पाकिस्तान सुपर फोरमा बंगलादेशलाई ११ रनले हराउँदै एसिसी ट्वान्टी-२० एसिया कपको उपाधि निजक पुगेको छ ।
उपाधिका लागि पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
बिहीबार दुई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका लागि शमिम हुसेनले, ३०, र सैफ हसनले १८, रिशाद हुसेनले अविजित १६, नुरुल हसन १६, मेहेदी हसनले ११ र लान्जिम हसन साकिबले १० रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान तीन तीन तथा सैम अयुबले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका मोहम्मद ह्यारिसले ३१, मोहम्मद नवाजले २५, शाहिन शाह अफ्रिदीले १९, फहिम अशरफले १४ र फखर जमानले १३ रन बनाए ।
बंगलादेशका लागि तस्किन अहमदले तीन तथा मेहदी हसन र रिशाद हुसेन समान दुई विकेट लिए ।