काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप अन्तर्गत भारत र नेपालबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा जारी दोस्रो सेमिफाइनल खेलमा भारतले नेपालमाथि दबाब बनाए पनि गोल गर्न सकेको छैन ।
खेलको १४औं मिनेटमा गुनलेइबा वाङखेयराक्पामको प्रहार गोलकिपर राम बोहरासम्म नपुग्दै राइटब्याक भुवन कामीले खतरालाई टारिदिए । त्यसको केही सकेन्ड्समै भारतले पुनः नेपालमाथि खतरा बुनेको थियो । तर, डल्लामुवन गाङ्टेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको २५औं मिनेटमा माल्दिनो सिंह युमनामले पेनाल्टी बक्स बाहिरबाट दिएको सुन्दर क्रसमा फरवार्ड रहान अहमदको ‘फ्रि हेडर’ले पोस्टको दिशा लिन सकेन । विपक्षी रक्षापङ्क्तिको कुनै पनि निगरानीमा नरहेका रहानको हेडर बहिरिँदा नेपालले राहतको सास फेरेको थियो ।
नेपालले ३८औं मिनेटमा पहिलो खतरा बुन्यो । अट्याकिङ मिडफिल्डर प्रतीश थापामगरले करिब २२ यार्ड परबाट गरेको प्रहार भारतीय गोलकिपर मानस ज्योती बरुहाले बचाए । त्यसपछि प्राप्त कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । पहिलो बारमा प्रतीशको प्रहार जति सुन्दर थियो, त्यति नै सुन्दर मानस ज्योतीको बचाउ रह्यो ।
यो खेलको विजेताले शनिबार फाइनलमा बंगलादेशको सामना गर्नेछ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानको चुनौती २–० ले पन्छाएको थियो ।