काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
घरेलु फुटबलका चर्चित प्रशिक्षकमध्ये एक न्यौपानेले भर्खरै मात्र उज्वेकिस्तानमा सम्पन्न एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गरेका थिए । दुई सातापछि न्यौपानेलाई सिनियर महिला टोलीको जिम्मेवारी दिइएको हो ।
बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डले मुख्य प्रशिक्षकबाट राजीनामा दिएसँगै महिला टोली दुई महिनायता प्रशिक्षकविहीन थियो । वाइल्डले उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा टोलीको नेतृत्व गरेका थिए । तर, एन्फाको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका वाइल्डले प्रतियोगिता सकिएको केही हप्तापछि एन्फालाई राजीनामा पत्र पठाएका थिए ।

न्यौपानेको नेतृत्वमा गत वर्षको नोभेम्बारमा सिनियर पुरुष टोलीले ताजकिस्तानको दुसान्बेमा घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यतिबेला उनलाई एन्फाले अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
एन्फाका अनुसार न्यौपाने अर्को वर्ष हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहनेछन् ।
न्यौपानेसँगै एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ । त्यस्तै टिम म्यानेजरमा विन्द्रा देवान र ‘फिजियोथेरापिस्ट'मा शिला गिरीकै निरन्तरता रहनेछ । ‘किट' म्यानेजरको जिम्मेवारी विकास गुरुङलाई दिइएको छ ।