काठमाडौं । मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा मंगलबार जापानको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।
खेल कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।
सिंगापुरविरुद्ध विपिनले चार विकेट लिँदा प्रसिद्धले अविजित ५५ रन बनाएका थिए ।
यता चार्ली हाराहिन्जेको कप्तानीमा रहेको जापान पनि लगातार दोस्रो जितको लक्ष्यमा छ । जापानले पहिलो खेलमा भुटानविरुद्ध २१५ रनको सानदार जित दर्ता गरेको थियो ।
जापानलाई काइसी काबायाशीडोगेट, मोन्टी हाराहिन्जे, इशान लालजस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।
भुटानविरुद्ध काइसीले शतक प्रहार गरेका थिए । यसैगरी चार्लीले ४२ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए ।